चीनबाट खरिद गरिएको ८ लाख भेरोसेल खोपको डोज नेपाल आइपुग्यो
काठमाडौं, २५ असार । सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट बिहीबार चीनले उत्पादन गरेको भेरोसेल खोपको आठ लाख डोज ल्याउन चीन गएको थियो । सो खोप आज बिहान मात्रै काठमाडौं आइपुगेको हो ।
नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप आजर बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ल्याइएको हो ।
स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने बताए ।
पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ ।