नेपालको ७७ जिल्लामै कोरोना संक्रमण, संक्रमितको संख्या ६ लाख ९२ हजारभन्दा बढी
काठमाडौं, २४ असार । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६ लाख ९२ हजार पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार ८ सय ७५ जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर जम्मा १० हजार ५ सय ४ कोरोना परीक्षण गरिएको छ । जसमा ५ हजार ३ सय ७४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार २ सय १८ र ५ हजार १ सय ३० एन्टीजेन परीक्षण गर्दा ६ सय ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट कोरोना देखिनेको संख्या ६ लाख ५१ हजार ३ सय ८० पुगेको छ भने एन्टीजेन विधिबाट ४१ हजार ४ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । समग्रमा नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६ लाख ९२ हजार ८ सय ४९ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप १ हजार २ सय ८६ जना कोरोना संक्रमणपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । यो दर कुल संक्रमितको ९४ दशमलव ५ प्रतिशत हो ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढ्ने क्रम फेरि उकालो लाग्दै गएको छ । मन्त्रालयका अनुसार नेपालका सबैजसो जिल्लामा कोरोना संक्रमणको केस फेला परेको छ । हाल नेपालमा शून्य संक्रमित भएको जिल्ला नरहेको र गत साताको भन्दा यो साता संक्रमणको दरमा डेढ देखि २ प्रतिशतले वृद्धि भएको पनि मन्त्रालयले जनाएको छ ।
कोरोनाको जोखिमलाई ध्यानमा राखी जारी गरिएको निषेधाज्ञा खुकुलो बनाइएसँगै मानिसहरुको भिडभाड बढेको भन्दै सरकारले सबैलाई सचेत रहन पनि आग्रह गरेको छ ।