नेपाललाई चाँडै खोप सहयोग गर्ने अमेरिकाको तयारी
काठमाडौं, २४ असार । अमेरिकाले जतिसक्दो छिटो खोप उपलब्ध गराउन नेपाल सरकार र कोभ्याक्ससँग नजिकबाट काम गरिरहेको बताएको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासका प्रवक्ता एना रिची एलनले नेपालमा चाँडोभन्दा चाँडो प्रयोग गर्न मिल्ने गरी खोप ल्याउने उद्देश्यले काम भइरहेको बताए ।
सुरक्षित र प्रभावकारी रूपमा नेपालमा खोप भित्र्याउन कानुनी र बन्दोबस्तीका चुनौती सकेसम्म चाँडो सम्बोधन गर्ने प्रयत्न गरिरहेको उनले बताएका छन् । अमेरिकाले उपलब्ध गराउने खोपको परिमाण अहिलेसम्म खुलाइएको छैन । दुई हप्ताअघि सरकारले गठन गरेको विज्ञ समितिका संयोजकले नेपालले ६ लाख जोनसन एन्ड जोनसनको खोप प्राप्त गर्न लागेको बताएका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडनले नेपालसहित एसिया प्रशान्त क्षेत्रका १७ वटा देश र प्यासिफिक आइल्यान्डलाई दुई करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।