एक डोज मात्रै लगाउनुपर्ने कोरोना खोप नेपाल आउँदै
काठमाडौं, २३ असार । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा खोप सञ्जाल (कोभ्याक्स) ले अनुदानमा उपलब्ध गराउने खोप नेपालमा आउने निश्चित भएको छ। अमेरिकी कम्पनीले जोन्सन एण्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप आउने पक्का भएको हो।
स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले जेनसेन खोप नेपालले पाउने पक्कका भएको जानकारी दिए । डा. पोख्रेलका अनुसार १५ लाख ३४ हजार ८ ५० डोज खोप अमेरिकी राष्ट्रपति जो वाइडेनले घोषणा गरे अनुरूप कोभ्याक्स सुविधामार्फत खोप आउन लागेको हो।
उक्त खोप आयात अनुमतिका लागि स्वास्थ्य मन्त्रालयले औषधी व्यवस्था विभागलाई पत्राचार गरिसकेको छ। खोप एक डोज मात्र लगाए पुग्छ। हालसम्म नेपालमा लगाइएको सबै खोप दुई डोज लगाउनुपर्ने खालका छन्।
अहिलेसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको ‘भेरोसेल’ नामक खोप मात्रै लगाइएको छ। यस अघि राष्ट्रपति कार्यालयले अमेरिकाले ५० लाख डोज खोप दिन लागेको हल्ला फैलाएको थियो । अहिले आएर बल्ल १५ लाख ३४ हजार ८ सय ४० डोज खोप दिन निश्चित भएको हो।
जोन्सन एण्ड जोन्सन कम्पनीले आफूले विकास गरेको खोप लक्षण नदेखिइकन हुने संक्रमण नियन्त्रणको लागि पनि प्रभावकारी हुने बताएको छ । उक्त खोप ८८ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ।