चितवन अझै कोरोनाको उच्च जोखिमयुक्त जिल्ला, ६४ जना आईसीयूमा उपचाररत
चितवन, २० असार । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित मध्ये अझै ६४ जनाको आईसीयू र १९ जनाको भन्टिलेटरमा उपचार चल्दै छ ।
स्वास्थ्य कार्यालय चितवनले आइतवार दिउँसोसम्म यहाँका तीन ठुला अस्पतालमा र अन्य साना अस्पतालमा गरी एकसय ९३ जना संक्रमित उपचाररत् रहेका जनाएको छ । ती मध्ये ६४ जना संक्रमितको आईसीयू र १९ जनाको भन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।
यसैबीच, सरकारले चितवन कोरोनाको उच्च जोखिमयुक्त जिल्लामध्ये एक रहेको बताएको छ । चितवनमा अहिलेपनि सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको छ ।
कार्यालयका अनुसार चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा १७ जनाको आईसीयू र २ जनाको भन्टिलेटरमा, चितवन मेडिकल कलेज (सिएमसी) मा ३८ जनाको आईसीयू र १४ जनाको भन्टिलेटरमा उपचार चल्दै छ । त्यस्तैगरी कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ७ जना आईसीयू र १४ जना भन्टिलेटरमा उपचाररत् छन् । त्यस बाहेक २ जना अन्य अस्पतालमा उपचाररत् छन् । यसरी उपचाररत् रहनेमा चितवनसहित अन्य जिल्लाका संक्रमित समेत रहेका छन् ।
जेठ पहिलो सातातिर संक्रमित बिरामी मध्ये चितवनमा २ सय ६५ जनासम्मको आईसीयूमा र ६० जना हाराहारीको भन्टिलेटरमा उपचार चलेको थियो । अहिले यो संख्या घट्दै गएको भएपनि सोचे जस्तो नियन्त्रणमा भने आउँन सकेको छैन ।
अहिले जिल्लाभर झन्डै १२ सय हाराहारी संक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म जिल्लाभर १६ हजार ५ सय ८४ जना संक्रमित भएका छन् । जसमध्ये १५ हजार १ सय २३ जना निको भईसकेका छन् । संक्रमित मध्ये अहिलेसम्म जिल्लाका २ सय ८७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।