टीकापुर अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान
धनगढी, १९ असार । राष्ट्रिय आविष्कार केन्द्रले टीकापुर अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरेको छ । वैकल्पिक प्रविधिबाट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएपछि प्रत्येक वेडमा अक्सिजनको सप्लाई पाइप लाइनबाट सुरु भएको छ ।
आविष्कार केन्द्रबाट आएका ४ जना प्राविधिकसहितको टोलीले ३ दिनमा उक्त मिनी अक्सिजन प्लान्ट जडान गरेका थिए । यसरी डिजाइन गरिएको मिनी अक्सिजन प्लान्ट विश्व मै पहिलो मिनी अक्सिजन प्लान्ट भएको इन्जिनियरले दावी गरेका छन् ।
प्लान्टबाट उत्पादन भएको अक्सिजन आइसियू र एचडियूका १२ बेडमा पुगाइएको मेकानिकल इन्जिनियर रितेश देवले बताए । २० लाखको लागतमा स्थापना भएको उक्त अक्सिजना प्लान्ट आविष्कार केन्द्रले सित्तैमा जडान गरेको उनले बताए ।
उक्त प्लान्टबाट प्रति मिनेट ६५ लिटर अक्सिजन उत्पादन हुने बताइएको छ । उक्त प्लान्टका ‘चिफ डिजानर’ इन्जिनियर प्रकाश बिष्टले प्लाट डिजाइन गरी स्वदेशमै जडान गर्न पाउँदा खुसी लागेको बताएका छन् । ‘७ वटा कन्सन्ट्रेटर प्रयोग गरी अक्सिजन उत्पादन गरिएको हो’ उनले भने ‘बढी अक्सिजन आवश्यक परे कन्सन्ट्रेटर र एअर कम्प्रेसर थप गरी बढाउन सकिने छ ।’
शनिबार इन्जिनियर रितेश देव र प्रकाश बिष्टले अस्पतालका अध्यक्ष दीपक रावल र मेसु रेमकुमार राईलाई मिनी अक्सिजन प्लान्ट हस्तान्तरण गरेका छन् ।