चितवनमा जारी निषेधाज्ञा खुकुलो हुँदै, घटेन कोरोना संक्रमणको दर
चितवन, १७ असार । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई खुकुलो बनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चितवनमा समेत निषेधाज्ञा खुकुलो बनाएको जनाएका छन् ।
निषेधाज्ञा खुकुलो हुँदै गर्दा जिल्लामा कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या भने ५ दिनयता निरन्तर उकालो लाग्दै छ । यो साताको तथ्याङ्क अनुसार सक्रिय संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार यो साता आइतवार सक्रिय संक्रमितको संख्या १ हजार १४ रहेको थियो । त्यसयता क्रमशः वृद्धि हुँदै यो संख्या सोमवार १ हजार ८७, मंगलवार १ हजार १ सय ३९, बुधवार १ हजार १ सय ९८ र आज बिहीवार यो संख्या १ हजार २ सय ३० पुगेको छ ।
कुन स्थानीय तहमा कति सक्रिय संक्रमित ?
सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा ७ सय ४२ जना छन् ।
त्यस्तै, अन्य स्थानीय तहमा खैरहनी नगरपालिकामा ९०, कालिका नगरपालिकामा ८२, राप्ती नगरपालिकामा ५९, माडी नगरपालिकामा ९७, रत्ननगर नगरपालिकामा १ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामनामा भने सक्रिय संक्रमित १६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका सक्रिय संक्रमित मध्ये १ हजार १ सय २ जना होम आइसोलेसन, ९७ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् भने ३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
झन्डै १५ हजारले जिते कोरोना
जिल्लाभर मात्रै अहिलेसम्म १४ हजार ८ सय ५७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, बिहीवार दिउँसोसम्म निको भएका समेत गरी जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या १६ हजार ३ सय ७० पुगेको छ । संक्रमित हुनेमा ९ हजार १ सय ५५ जना पुरूष र ७ हजार २ सय ९ जना महिला रहेका छन् ।
त्यस्तै, जिल्लाका संक्रमित मध्ये अहिलेसम्म २ सय ८३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै भन्दाबढी १ सय ८१ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । बाँकी एकसय २ जना जिल्लाका अन्य पालिकाका रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।