नेपालमा २६ जनामा कालो ढुसीको संक्रमण, बिरामी वैकल्पिक औषधिको भरमा
बीबीसी, १७ असार । छिमेकी भारतमा कोभिडका बिरामीमाझ प्रकोपका रूपमा देखिएको म्यूकोर्माइकोसिस नेपालमा पनि देशभरि अहिलेसम्म करिब २६ जना बिरामीमा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये महाराजगन्जस्थित शिक्षण अस्पतालमा मात्रै जेठ ३ गतेयता १३ जना भर्ना भएको उक्त अस्पतालका डा. रवीन्द्रभक्त प्रधानाङ्गले बताए ।
गएको शनिवारमात्रै थप दुई जना बिरामी भर्ना भएका र उनीहरूको अवस्था गम्भीर रहेको प्रधानाङ्गले बताए ।
धेरैजसो बिरामी समय घर्किसकेपछि अस्पताल आउँदा जटिलता धेरै आउने र आँखा नै नदेख्ने हुने गरेको उनले बताए ।
"म्यूकोर्माइकोसिस भएका एकजना बिरामीले ज्यान नै गुमाउनुभयो भने दुईजनाको आँखा निकाल्नुपर्यो । पछिल्लो पटक भर्ना हुन आएका दुईजना बिरामीको पनि अवस्था गम्भीर छ," डाक्टर प्रधानाङ्गले भने ।
वैकल्पिक औषधि
म्यूकोर्माइकोसिसका बिरामीलाई मुख्यतया 'एम्फोटेरिसिन बी' नामको औषधि दिइने गरिएको र अहिले उक्त औषधिको उपलब्ध नभएको मन्त्रालय तथा उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् ।
डाक्टर प्रधानाङ्गले भने, "यो औषधि अहिले बजारमा छैन । त्यसैले अहिले बिरामीले विकल्पका रूपमा पोसाकोनाजोल प्रयोग गरिरहेका छन् ।"
उनका अनुसार एम्फोटेरिसिन बीको दाँजोमा पोसाकोनाजोल सस्तो छ तर यसका 'साइड इफेक्ट'हरू धेरै छन् ।
एम्फोटेरिसिन बीलाई भारतले 'निर्यात प्रतिबन्धित औषधि'को सूचीमा राखेपछि नेपालले म्यूकोर्माइकोसिसका बिरामीको उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनसँग उक्त औषधिको ३ हजार भाइल पठाउन अनुरोध गरेको थियो ।
"त्यसरी माग गर्दा जुन महिनाको सुरुमा १ हजार भाइल नेपाल आए पनि त्यसले करिब १८ जना बिरामीको उपचार गर्न सम्भव भयो," स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले भने ।
कालाजारका बिरामीलाई प्रयोग हुने उक्त औषधि अब कालाजारको उपचारकै लागि पनि बाँकी नरहेको उनले बताए ।
प्रवक्ता पौडेलले भने, "अहिले अवस्था चुनौतीपूर्ण छ । हामीले कालाजारको उपचारका लागि राखेको औषधि पनि म्यूकोर्माइकोसिस भएकै बिरामीलाई प्रयोग गरिसक्यौँ ।"
"त्यही भएर हामीले विश्व स्वास्थ्य सङ्गठनलाई अनुरोध गरेका छौँ र दुई हजार भाइल आइदियो भने हामीले कालाजारलाई पनि व्यवस्थापन गर्न सक्थ्यौँ ।"
सङ्गठनले कहिले पठाउँछ थप औषधि ?
विश्व स्वास्थ्य सङ्गठनले पनि अन्तर्राष्ट्रिय बजारमा 'एम्फोटेरिसिन बी' को उपलब्धता सहज नभएको खबर आफूहरूलाई पठाएको प्रवक्ता पौडेलले बताए ।
"सहज उपलब्ध छैन भनेर हामीलाई सूचना दिएको छ । अहिले बजारमा पोसाकोनाजोल उपलब्ध भएकोले धेरै बिरामीले यो प्रयोग गरिरहनुभएको छ," उनले भने ।
पोसाकोनाजोलको दाँजोमा एम्फोटेरिसिन बी निकै महँगो पर्छ । प्रवक्ता पौडेलका अनुसार भारतमा उक्त औषधिको मूल्य १० हजार रुपैयाँ पर्छ भने बाङ्ग्लादेशमा २५ देखि ३० हजार रुपैयाँ पर्छ ।
स्वास्थ्य सेवा विभागले पनि खरिदका लागि टेन्डर सुरु गरेको तर औषधि महँगो भएकाले त्यसको प्रक्रिया खासै अघि नबढेको बताइन्छ ।
"औषधिको मूल्यमा भिन्नता धेरै भएपछि टेन्डरको प्रक्रियामा भाग लिने नै धेरै भेटिएका छैनन् भन्ने बुझेको छु," प्रवक्ता डाक्टर पौडेलले भने, "आपूर्तिकर्ताले पोसाकोनाजोल ल्याइरहेकोले अहिलेको व्यवस्थापन त्यसरी नै भइरहेको छ ।"
महङ्गो औषधि
म्यूकोर्माइकोसिसको उपचारमा प्रयोग हुने एम्फोटेरिसिन बी एकजना बिरामीका लागि करिब ८० वटा भाइल आवश्यक पर्ने उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् ।
भारतीय मूल्यमै पाइए पनि सामान्य हिसाबमा एकजना बिरामीका लागि औषधि मात्रै कम्तीमा ८ लाख पर्न जाने देखिन्छ।
डब्लुएचओले पठाएको अनुदानको औषधि बिरामीलाई निःशुल्क दिइएको भए पनि पोसाकोनाजोल भने बिरामीले आफ्नै खर्चमा किनिरहेका छन् ।
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या घटिरहँदा म्यूकोर्माइकोसिसका बिरामी पनि घट्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।
"गत एक महिनाको तथ्याङ्क हेर्ने हो भने यो यसरी बढिरहेको तथ्याङ्क पनि छैन । एकदमै कम गतिमा छ र सङ्क्रमण दर घट्दै जाँदा यो त्यति नदेखिएला भन्ने अनुमान पनि छ," डाक्टर पौडेलले भने ।
तर यो रोगको जोखिमबाट बच्न लक्षण देखिने बित्तिकै बिरामीहरू अस्पताल पुग्नुपर्ने डाक्टर प्रधानाङ्ग बताउँछन् ।
"कोभिड भएका र मधुमेहमा चिनीको मात्रा र्धेरै भएकाहरूले नाक बन्द हुने र आँखा सुनिने बित्तिकै म्यूकोर्माइकोसिसको शङ्का गरेर उपचार गर्न अस्पताल गइहाल्नुपर्छ," डाक्टर प्रधानाङ्गले भने, "समयमै उपचार गरे बिरामीलाई निको हुन्छ । अवस्था जटिल भइसकेपछि बिरामीलाई जे पनि हुनसक्छ ।"