गुल्मीको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स-रे सेवा सुरु
रुपन्देही, १७ असार । गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ६ रजस्थलमा रहेको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सुरु भएको छ ।
बुधवार एक कार्यक्रमकाबीच धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष शिव केसीले एक्स रे गरी सेवा सुभारम्भ गरे ।
ग्रामिण क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सुविधालाई ध्यानमा राखि गाउँगाउँमा स्थानिय सरकार रहेको अनुभव आम नागरिकमा गराउनको लागि र स्वास्थ्य सेवाका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता हटाउनको लागि आधारभुत आवश्यकतामध्ये एक्सरे सेवा सुरु गरिएको हो ।
उक्त स्वास्थ्य केन्द्रले अहिले ओपिडि सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, इसिजि सेवा, ल्याव सम्बन्धि सेवाहरु, स्वास्थ्य विमा कार्यक्रम र आजबाट एक्सरे सेवा लगायतका सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रका प्रमुख डा. जनक पाठकले बताए ।
त्यस्तै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले अब छिट्टै नै भिडियो एक्सरे सेवा पनि सञ्चालन गरिने बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाखरेलले अबको २ र्ष भित्रमा १५ शय्याको अत्याधुनिक अस्पताल निमार्ण गरिने पनि बताए । साथै महिला स्वयंसेविकाहरुको लागि यस वर्षबाट कल्याणकारी कोषको स्थापना गरिने पनि उनले जानकारी दिए ।