कोरोनाको चेनब्रेक गर्न तिलोत्तमामा ‘सडक एन्टिजेन टेष्ट’, १३ जनामा संक्रमण पुष्टि

रुपन्देही, १७ असार । रुपन्देहिीको तिलोत्तमा नगरपालिकामा निुः शुल्क कोरोना परीक्षण सुरु गरेको छ ।
लकडाउन खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कायमैं रहेको भन्दै नगरपालिकाले संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको हो ।
‘सडक एन्टिजेन टेष्ट’ नाम दिइएको कोरोना परीक्षण कार्यक्रमको मणिग्राम चोकमा सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारी पूर्णतः नहटेकोले सचेतना अपनाउन नगरबासीलाई अनुरोध गरे ।
व्यक्तिको हेलचेक्रयाईँले समुदायमा पुनः महामारी फैलन सक्नेप्रति सचेत गराउँदै नगर प्रमुख घिमिरेले दैनिक कार्यसम्पादनमा स्वास्थ्य सुरक्षा मापदण्ड परिपालनामा गर्न आग्रह गरे । यसअघि प्रत्येक वडामा कोरोना परीक्षण गरेको तिलोत्तमा नगरपालिकाले बुधबारबाट सडकमैं एन्टिजन परीक्षण सुरु गरेको हो ।
कोरोना फोकल पर्सन केशव भट्टराईले क्रमशः नगरका प्रमुख सडक चोकहरुमा एन्टिजेन परीक्षण गरिने बताए ।
बुधबार १ सय १४ जनाको कोरोना परीक्षण गर्दा १३ जनामा कोरोना पोजेटिभ देखिएको हो । सडकमा हिँडेकाहरु मध्येबाट नमूनाको रुपमा कृषक, व्यवसायी, विद्यार्थी, गृहिणी, चालक सहचालकलगायतको कोरोना परीक्षण गरिएको थियो ।
पछिल्लो समय समुदायस्तरमा परीक्षण कम हुँदा संक्रमण घटेको हुन सक्ने आशंका भैरहँदा तिलोत्तमाले परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको हो । यो परीक्षणले नगरपालिकामा कोरोना संक्रमणको वास्तविक अवस्था बाहिर ल्याउने र यसबाट महामारी नियन्त्रणका लागि आवश्यक थप योजना बनाउन सकिने नगरपालिकाका कोरोना फोकल पर्सन भट्टराईले बताए ।