नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ७० हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, १६ असार । नेपालमा फेरि कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ ।

१९ सयमा झरेको कोरोनाको दैनिक सङ्क्रमण दर फेरि बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप २ हजार ८ सय ९२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

नियमित कोरोना सम्बन्धी जानकारी दिने क्रममा प्रवक्ता डा. कृष्ण पौडेलले गत २४ घन्टामा ११ हजार ५ सय ६८ कोरोना परीक्षण गर्दा २ हजार ८ सय ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । 

उनले गत २४ घन्टामा ७ हजार १ सय ८७ कोरोना परीक्षण गर्दा १ हजार ८ सय ८९ र ४ हजार ३ सय ८१ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । 

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ६ लाख ३८ हजार ८ सय ५ जना र एन्टीजेन विधिबाट ३४ हजार ९ सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुबै विधिबाट हालसम्म नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ७३ हजार ७ सय ४९ पुगेको छ ।

यस्तै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ६ लाख नजिक पुगेको छ । 

मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ३ हजार ५ सय ९७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ५ लाख ९६ हजार १ सय ३२ पुगेको छ । यो दर कुल सङ्क्रमितको ९३ दशमलव ३ प्रतिशत हो । 

Last modified on 2021-06-30 20:33:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts