विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षद्वारा वार्ताका लागि अल्टिमेटम
सात दिनभित्र वार्ता नगरे सामूहिक राजीनामा दिने चेतावनी
काठमाडौं, १६ असार । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका आन्दोलनरत चिकित्सक र कर्मचारीहरुले वार्ताका लागि सात दिने अल्टिमेटम दिएका छन् ।
बुधबार बिहान आन्दोलनकारीले प्रतिष्ठानका चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै प्रधानमन्त्रीको पहलमा वार्ता टोली गठन भएर समस्या समाधानको पहल एक साताभित्र नभए सामूहिक राजीनामा दिने घोषणासमेत गरेका छन् ।
असार २३ सम्मको अल्टिमेटम दिँदै प्रतिष्ठानको संयुक्त संघर्ष समितिले आफूहरुको माग सम्बोधन नभए प्रधानमन्त्री कार्यालय घेर्ने चेतावनी पनि दिएका छन् ।
दुई सातादेखि निरन्तर आन्दोलनमा रहेका प्रतिष्ठानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीले यसपटक तीन वटा माग अघि सारेका हुन् ।
बुधबार पदाधिकारीको कार्यकक्षमा ताला लगाएपछि जारी विज्ञप्तिका अनुसार उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्राध्यापक डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्राध्यापक डा. गुरू खनाल र मेडिकल डाइरेक्टर प्राध्यापक डा. गौरीशंकर साहको बहिर्गमनलाई आन्दोलनकारीले अबको न्यूनतम शर्त बनाएका छन् ।
त्यस्तै प्रतिष्ठानमा अब पदाधिकारी नियुक्त गर्दा विभिन्न आयोगले निर्धारण गरेका मापदण्ड पालना गरेर पारदर्शी रूपमा छनोट गर्नुपर्ने माग आन्दोलनकारीको छ ।
प्रतिष्ठानमा एकपछि अर्को तनावको मुख्य कारक बनेका उपकुलपति गिरीले नै अनियमितताविरुद्ध बोल्ने चिकित्सकलाई प्रष्टीकरण सोधेर आन्दोलनको आधार तयार पारेका थिए ।
प्रतिष्ठानमा आएपछि वार्ताका लागि आन्दोलनकारीलाई बोलाएर उनले असामान्य गतिविधि गरेपछि मंगलबार वार्ता भाँडिएको थियो । आन्दोलनकारीले उपकुलपति गिरीले मादक पदार्थ सेवन गरेको आरोप लगाउँदै वार्तास्थलमै अन्य पदाधिकारीसहित उनलाई पनि थुनेका थिए ।
आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले मापसले गरेर उपकुलपति गिरीले असमान्य गतिविधि देखाएको भन्दै मंगलबार वार्तास्थलमै थुनिदिएका थिए ।
आन्दोलनरत पक्षले उपकुलपति गिरीको मापसे चेक गर्नुपर्ने अडान राखेका थिए । तर गिरीले मापसे चेक गर्न मानेका थिएनन् भने ६ घन्टापछि उनीहरुलाई छोडिएको थियो ।