चिकित्सा शास्त्र स्नातक तहको एकीकृत प्रवेश परीक्षा ९ साउन देखि हुने
काठमाडौं, १५ असार । कोभिड – १९ को महामारीपछि रोकिदै आएको चिकित्सा शास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा ९ साउन देखि शुरु हुने निश्चित भएको छ ।
आयोगले सोमबार कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को तर्फबाट परीक्षा सञ्चालनका लागि अनुमति पाएपछि ९ साउन देखि परीक्षा हुने पक्का भएको हो ।
आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले कोभिडका कारणले सर्दै आएको परीक्षा ९ साउन देखि करीब ५ दिन सञ्चालन हुने बताए । उनले त्यस सम्वन्धी विस्तृत सूचना आज प्रकाशित हुने समेत जानकारी दिए ।
उनले यसपटक परीक्षा काठमाडौँ बाहेक मोफसलका चार स्थानमा पनि सञ्चालन हुने बताए । ‘यसपटक काठमाडौं मात्रै होइन धरान, चितवन, पोखरा र नेपालगञ्जमा पनि परीक्षा हुनेछन् । त्यसका लागि हामीले यसअघि नै विद्यार्थीहरुलाई पायक पर्ने ठाँउ कहाँ हो भनेर सोधेका पनि छौँ । त्यसै आधारमा परीक्षाको तयारी बढाइएको छ,’ उनले भने ।
केही विद्यार्थीहरुले धेरै विषयका परीक्षा दिने भएकाले परीक्षा फरक फरक समय र दिनमा गर्नु परेको समेत उनले बताए । यसपटक परीक्षामा ३२ हजार ८०० बढीले फारम भरेका छन् । त्यसमा सबैभन्दा बढी एमबीबीएसमा रहेका छन् ।