नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ६८ हजार नाघ्यो
९२ प्रतिशतभन्दा बढी स्वस्थ
काठमाडौं, १४ असार । नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख ८८ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये ३ हजार ८ सय ५३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ । यो दर कुल सङ्क्रमितको ९२ दशमलव ६ प्रतिशत हो ।
नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या निरन्तर उकालो लाग्दै गएको छ ।
यस्तै गत २४ घन्टामा थप २ हजार ४ सय ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । मन्त्रालयको अद्यावधिक विवरण अनुसार ११ हजार ६ सय ४० कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ६८ हजार २ सय २१ पुगेको छ ।
जसमा हालसम्म आरटी पिसिआर विधिबाट ६ लाख ३५ हजार १ सय ८८ जनामा कोरोना देखिएको छ भने एन्टीजेन विधिबाट ३३ हजार ३३ जनामा कोरोना देखिएको छ ।