लमजुङका २४ वर्षीय कोरोना संक्रमित युवकको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु
चितवन, १४ असार । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा उपचाररत् थप एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवकको मृत्यु भएको छ ।
गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको बेसीशहर नगरपालिका–१० का २४ वर्षीय ती पुरूषको सोमबार बिहान ३ः२० बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनीलाई यहि असार ९ गते अस्पताल भर्ना गरिएको थियो । उनमा १० गते संक्रमण पुष्टि भएको थियो ।
अस्पतालका अनुसार उनमा श्वासप्रश्वासमा समस्यासँगै शरीरमा अक्सिजनको मात्रा कम भएको थियो । उनमा जटिल प्रकृतिको कोभिड निमोनिया देखिएको थियो । मुटुमा समस्या रहेका उनमा ‘हेपाटाइटिस सी’ पोजेटिभ समेत रहेको थियो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै, स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आइतवार दिउँसोसम्म जिल्लाभर १५ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अहिलेसम्म १४ हजार ६ सय २७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी आइतवार दिउँसोसम्म जिल्लाभर १ हजार १४ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म चितवन जिल्लाका मात्रै २ सय ७९ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
अहिले देशभर निषेधाज्ञालाई खुकुलो बनाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चितवनमा समेत निषेधाज्ञा खुकुलो बनाइएको जनाएका छन् । लकडाउन खुकुलो भएपनि कोरोना संक्रमणको जोखिम भने उस्तै नै रहेको चिकित्सकले बताएका छन् । उनीहरूले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।