चितवनमा सक्रिय संक्रमितको संख्या १ हजारभन्दा धेरै, खुकुलो हुँदै लकडाउन
चितवन, १० असार । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई खुकुलो बनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चितवनमा समेत निषेधाज्ञा खुकुलो बनाएको जनाएका छन् ।
निषेधाज्ञालाई खुकुलो भएपनि जिल्लाका सातवटै स्थानीय तहमा गरी कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या १ हजारभन्दा माथि छ ।
बिहीवार दिउँसोसम्म जिल्लाभर सक्रिय संक्रमितको संख्या १ हजार ४६ जना रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा ६ सय ५५ जना छन् ।
त्यस्तै, अन्य स्थानीय तहमा खैरहनी नगरपालिकामा ६९, कालिका नगरपालिकामा ६१, राप्ती नगरपालिकामा ५२, माडी नगरपालिकामा ७२, रत्ननगर नगरपालिकामा १ सय १६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामनामा भने सक्रिय संक्रमित २१ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका सक्रिय संक्रमित मध्ये ९ सय १५ जना होम आइसोलेसन, ९४ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् भने ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कुल संक्रमितको संख्या साढे १५ हजार नाघ्यो
बिहीवार दिउँसोसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या १५ हजार ७ सय ५१ पुगेको छ । संक्रमित हुनेमा ८ हजार ८ सय २७ जना पुरूष र ६ हजार ९ सय १८ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म १४ हजार ४ सय ३१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, जिल्लाका संक्रमित मध्ये अहिलेसम्म २ सय ७४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ सय ७४ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । बाँकी एकसय जना जिल्लाका अन्य पालिकाका रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमित मध्ये ९२ जना आईसीयूमा
चितवनमा अन्य जिल्लाका समेत गरी कोरोना संक्रमित मध्ये ९२ जनाको आईसीयूमा उपचार चल्दैछ ।
स्वास्थ्य कार्यालयका अनुसार बिहीवार दिउँसोसम्म यहाँका तीन ठुला अस्पतालमा र अन्य साना अस्पतालमा समेतगरी २ सय ३३ जना संक्रमित उपचाररत् रहेको जनाएको छ ।
ती मध्ये एकसय ९२ जना संक्रमितको आईसीयू र २२ जनाको भन्टिलेटरमा उपचार भईरहेको जनाएको छ । कार्यालयका अनुसार चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा २१ जनाको आईसीयू २२ र ३जनाको भन्टिलेटरमा, चितवन मेडिकल कलेज (सिएमसी)मा ५२ जनाको आईसीयू र १२ जनाको भन्टिलेटरमा उपचार चल्दै छ ।
त्यस्तैगरी कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा १६ जना आईसीयू र ७ जना भन्टिलेटरमा उपचाररत् छन् । त्यस्तै, ३ जनाको जिल्लाका अन्य अस्पतालमा आईसीयू उपचार चल्दैछ । यहाँ उपचाररत् रहनेमा चितवनलगाएत बाहिरी जिल्लाका संक्रमित समेत रहेका छन् ।
लकडाउन खुकुलो भएपनि कोरोना संक्रमणको जोखिम भने उस्तै नै रहेको चिकित्सकले बताएका छन् । उनीहरूले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।