भरतपुर क्यान्सर अस्पतालकी सिनियर प्याथोलोजिस्ट डा. सदिना श्रेष्ठको निधन
चितवन, ९ असार । भरतपुरस्थित बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत सिनियर प्याथोलोजिस्ट डा. सदिना श्रेष्ठको निधन भएको छ ।
क्यान्सर अस्पतालमा उपचारकै क्रममा उनको ५६ वर्षको उमेरमा मंगलबार साँझ ६ बजेर ५५ मिनेट जादाँ मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी वि.सं. २०६१ साल साउन ३१ गतेदेखि त्यस अस्पतालमा कार्यरत थिइन् । उनीको तीन वर्षअघि फोक्सोमा क्यान्सर देखिएको थियो । त्यसयता उनको क्यान्सरको उपचार भइरहेको थियो ।
सामान्य जीवन शैली मन पर्ने कुशल चिकित्सक डा. श्रेष्ठ अस्पतालकी पूर्व सञ्चालक समिति सदस्य समेत थिइन् ।
उनको अल्पायुमा भएको निधनले मर्माहत बनाएको भन्दै यस दुखद घडीमा स्वर्गीय डा. श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा अस्पतालले गहिरो समवेदना प्रकट गरेको छ ।
बुधवार बिहान उनको शवलाई देवघाटमा लगी दाहसंस्कार गरिएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।