दाङको बङ्गलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन
दाङ, ८ असार । दाङको बङ्गलाचुली गाउँपालिकाले १५ शय्याको अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको छ । आधारभूत स्वास्थ्य सुविधाबाट समेत वञ्चित पहाडी क्षेत्र बङ्गलाचुलीमा अस्पताल निर्माण भएपछि स्थानीय बासिन्दालाई उपचारमा सहज भएको छ।
केन्द्र सरकारसँगको साझेदारीमा १५ शय्याको अस्पताल सञ्चालन भएपछि नागरिकलाई सहज भएको हो । बङ्गलाचुली गाउँपालिकाका साविकका पहाडी गाविस काभ्रे, लोहारपानी, हाँसीपुर र स्युजा तथा छिमेकी जिल्ला प्युठानका स्थानीयवासीले समेत लिन सक्ने भएका छन् ।
अस्पताल नहुँदा सामान्य बिरामी हुँदा पनि उपचारका लागि पनि सदरमुकाम घोराही जानुपर्ने बाध्यता थियो । प्रयोगशाला, एक्सरे र दक्ष चिकित्सकसहितको उपचार सेवा सुरु गरिएको बङ्गलाचुली गाउँपालिकाले जनाएको छ ।