लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरङ्ग फार्मेसी सेवा सुरु
रुपन्देही, ८ असार । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले फार्मेसी सेवालाई थप विस्तार गरेको छ । अस्पतालले यसअघि रहेको दुई वटा फार्मेसी सेवासँगै सोमवारदेखि नयाँ अन्तरङ्ग फार्मेसी शुरुवात गरेको हो ।
एक समारोहकाबीच लुम्बिनी प्रदेशिक अस्पताल विकास समिति अध्यक्ष सूर्य बहादुर भट्टराईले फार्मेसीको उद्घाटन गरे । यससँगै अब अस्पतालमा आउने बिरामीले निजी औषधी पसलमा गएर महँगोमा औषधि किन्नुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
उनले अस्पतालमा आउने बिरामीलाई स्तरीय र सहज सेवा प्रदानका लागि अस्पतालले संकल्प गरेको बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .राजेन्द्र खनालले अस्पतालको आम्दानी स्रोत अहिले बीमा र फार्मेसी बनेको बताए ।
लुम्बिनी प्रदेशिक अस्पतालका फार्मेसी अधिकृत पदम खनालले अस्पताल भित्र फार्मेसी संचालन गर्दा बिरामी औषधि खरिदको लागि अन्यत्र जाने झन्झट हट्ने र सस्तो मुल्यमा औषधि पाउने दावी गरे ।
उदघाटन समारोहमा अस्पताल बिकास समिति सदस्य रिज्यु श्रेष्ठ नर्सिड ईञ्चार्ज ज्योति पौडल लगायतको सहभागी रहेको थियो ।