नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन



Download our app to get more features

काठमाडौ, ७ असार । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक हुने जनस्वास्थ्यविद्ले बताएका छन् ।  

 भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । 

देशका विभिन्न भागबाट विभिन्न उमेर समूह र लिंगलाई प्रतिनिधित्व हुने गरी राष्ट्रिय प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म ४८ वटा नमुना संकलन गरेको थियो । उक्त नमुनालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको उक्त प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न पठाइएको थियो । 

डा. पौडेलका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा के ४१७ एन म्युटेसन भेटिएको छ । यसअघि बेलायती सञ्चार माध्यमले ‘नेपाल भेरियन्ट’ भनेर दाबी गरेको यही म्युटेसन हो । नेपालबाट गएका र कोरोना संक्रमण भएकाहरुमा के ४१७ एन’ म्युटेसन भेटिएकै आधारमा उनीहरुले यो दाबी गरेका थिए ।

तर यसलाई नेपाल भेरियन्ट भन्न नमिल्ने धुलिखेल अस्पतालका डा. राजीव श्रेष्ठले बताएका छन् ।  यो म्युटेसन डेल्टा भेरियन्टभन्दा अझ संक्रामक छ र संक्रमितमा अझ गम्भीर असर देखिएको छ । तर यो म्युटेसनबारे धेरै विषय अध्ययन गर्न नै बाँकी छ ।
नेपालमा यसअघि डेल्टा, अल्फासहित काप्पा भेरियन्ट पनि भेटिएको थियो । तर काप्पा भेरियन्टले स्वास्थ्यमा गम्भीर असर नपार्ने भएकाले डब्ल्यूएचओले यसलाई भेरियन्ट अफ कन्सर्नको नाम दिइसकेको छैन ।

Last modified on 2021-06-21 18:42:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts