भेरी अस्पतालका चिकित्सक र नर्समाथि कुटपिट गर्नेहरुलाई धरौटीमा रिहा गर्न आदेश

बाँके, ७ असार । जिल्ला अदालत बाँकले भेरी अस्पतालमा चिकित्सक र नर्समाथि कुटपिट गरेको घटनाका आरोपीहरुलाई धरौटीमा रिहा आदेश दिएको छ ।
अदालतलले घटनाको तीन साता पछि आरोपित तीन जनालाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले कुटपिट मुद्दाका आरोपी दाङका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई आइतबार धरौटीमा छाड्न आदेश दिएको हो ।
गत १३ जेठ राति दाङ तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५४ वर्षीय कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारको क्रममा मृत्यु भएको थियो । त्यसपछि आक्रोशित बनेका उनीहरूले उपचारमा लापरबाही गरेको भन्दै अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए ।
भेरी अस्पतालमा भएको उक्त घटनाको चौतर्फी विरोध भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले घटनामा संलग्न उनीहरुलाई तत्कालै हिरासतमा लिएर छानबिन सुरु गरेको थियो ।