तेस्रो लहरका लागि तयार राख्न युवा चिकित्सकलाई अभिमुखिकरण कार्यक्रम
काठमाडौं, ३ असार । नेपाल चिकित्सक संघको जुनियर डाक्टर कमिटीले कोरोनाको तेस्रो लहरका लागि तयार रहन अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ।
कोरोनाको तेस्रो लहरका लागि तयार रहन कमिटीले युवा चिकित्सकलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो। हाल साताको एक पटक भर्चुअल मार्फत उनीहरुलाई अभिमुखिकरण गर्ने गरिएको संयोजक डा. अनिल कार्कीले बताए।
हालसम्म चार वटा सेशन सकिएको छ। पाँचौ हप्ताको कार्यक्रम आगामी आइतबार गरिने उनले जानकारी दिए। प्रत्येक सेशनमा १ सयदेखि १२० जनासम्म चिकित्सक सहभागी हुने गरेका छन्। अभिमुखिकरण कार्यक्रममा सबै चिकित्सकहरुले कोभिड महामारीको समयमा काम गर्दाको अनुभव समेत साट्ने गरेका छन्।
हाल कोरोना संक्रमितमा देखिएको कालो ढुसीको समस्या बारेमा पनि भारतका विशेषज्ञ मार्फत जानकारी दिइने गरिएको छ।