अर्को साताबाट ‘स्मार्ट लकडाउन’ हुने, के हो त 'स्मार्ट लकडाउन' ?



Download our app to get more features

काठमाडौं, ३ असार । कोभिड – १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ ।

अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ ।

प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राती अबेरसम्म बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइनेसमेत निर्णय गरेको छ ।

यसैगरी, गैर आवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सङ्क्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए ।

के हो त 'स्मार्ट लकडाउन' ? 
निषेधाज्ञा र लकडाउनभन्दा अर्को विकल्प हो स्मार्ट लकडाउन। यसमा मानिसले केही सहज अनुभूति गर्नेछन् । सबै क्षेत्रमा बन्देज लगाइएको हुँदैन, कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको प्रमुख पूर्वरथी बालानन्द शर्माले भने।

लकडाउन गर्दा सार्वजनिक तथा निजी यातायात सबै बन्द गएका थिए। त्यसपछिको निषेधाज्ञामा केही सवारी साधनलाई खुकुलो बनाइयो। तर, अब यहि प्रक्रिया स्मार्ट लकडाउनमा फरक हुने भएको छ।अब जोरबिजोर नभएर सवारी अन्तिम सङ्ख्याको आधारमा निर्धारण गरिने छ। जस्तो कि तपाईको सवारीको अन्तिम सङ्ख्या ० देखि ९ सम्म हुन्छ। त्यसलाई वर्गीकरण गरेर ० देखि ३ सम्म आइतबार, ४ देखि ७ सम्म सोमबार ८ र ९ बुधवार जस्तै गरेर सञ्चालनमा ल्याउन तयारी गरेको छ।

त्यस्तै, अन्य व्यापार व्यवसाय पनि स्मार्ट लकडाउनमा खुल्ला हुनेछन्। अहिले जस्तो अत्यावश्यक, खाद्यान्न लगायत पसलहरूमा मात्र खुला हुनेछैन। समितिले तयार पारेको स्मार्ट लकडाउन मोडिलाटी अनुसार सबै पसलहरू खुल्ने छ। तर, समय निर्धारण गरिने छ। जस्तो खाद्यान्नलाई ९ बजेसम्म, लत्ताकपडा, इलेक्ट्रिक पसल १० देखि १२ बजेसम्म, हार्डवेयर पसल तथा अन्य पसलहरू १ देखि ४ बजेसम्म गरेर पसलको वर्गीकरण गरेर खोलिनेछ।

यो मोडालिटीले सबै पसलहरू खोल्न पाए। मानिसले जे आवश्यकता छ त्यो पसल खुलेको समयमा मात्र निस्किने भए। अन्य मानिस घरमा नै बस्ने भए। यसले मानिसको भिड कम भयो। व्यापार व्यवसायमा पनि खासै असर पर्दैन् । 

स्मार्ट लकडाउनको अर्को मोडालिटीमा अनलाइन व्यापारहरूलाई पनि प्रोत्साहन गर्ने देखिएको छ। जसमा १० जना डेलिभरी व्यक्तिलाई सडकमा निस्किन दिँदा १ हजार सामान किन्ने मानिसको सङ्ख्या कम हुने अनुमान गरिएको छ। त्यस्तै सेक्टरल रूपमा निषेधाज्ञा गर्नु पनि स्मार्ट मोडालिटीभित्र परेको छ। जस्तो आइतबार चावहिल क्षेत्रमा पसल खुल्न गर्ने, सोमवार जाउलाखेल क्षेत्रमा, मङ्गलवार न्युरोडमा। स्मार्ट लकडाउनले विकल्प खोज्ने र संक्रमण हेरेर त्यसलाई के गर्ने भन्ने कुरामा छलफल हुने प्रमुख शर्माले बताए । 

अहिले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अझै प्रभावकारी देखिएको खण्डमा स्मार्ट लकडाउन नलगाएर निषेधाज्ञालाई नै प्राथमिकता दिने विषयमा समेत छलफल भइरहेको छ। काठमाडौं उपत्यकाभित्र पछिल्लो समय जारी भएको निषेधाज्ञा असार ७ गतेबाट सकिदैंछ।

Last modified on 2021-06-17 18:00:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts