चीनसँग खोप खरिदको प्रक्रिया अघि बढ्यो, तर कति मात्रा आउँछ भन्ने अनिश्चित
काठमाडौं, ३ असार । सरकारले चीनबाट कोरोनाविरुद्धको खोप खरिद गर्न लागेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको हो । सोही अनुसार खोप खरिदको तयारी भएको सवास्थय तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले हाम्रो डक्टर न्यूजलाई बताए ।
उनले यति नै मात्रा भन्ने अहिले निश्चित नभएको तर खोप खरिदको प्रक्रिया अघि बढाइएको पनि बताए ।
कोरोनाविरुद्धको खोप सरकारको प्राथमिकतामा रहेको र सोही अनुसार सरकारले खोप खरिद प्रक्रिया अघि बढाएको भन्दै प्रवक्ता पौडेलले भने, खोप खरिदको प्रक्रिया अघि बढाइएको छ । कम्पनीले कति मात्रामा खोप उपलब्ध गराउन सक्छ त्यहि अनुसार खोप नेपाल आउँछ । अहिले नै यति मात्रा भनेर निश्चित भइसकेको छैन ।
सबै प्रक्रिया पूरा भयो र चीनले खोप दिन्छु भन्यो भने सम्भवतः जुन महिनासम्म खोप नेपाल आइपुग्ने गरि छलफल भइरहेको पनि उनले बताए
प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री हुँदा नै चीन र अमेरिकासँग ठूलो मात्रामा खोप खरिदको विषयमा छलफल भइरहेको बताएका थिए भने स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएपछि मन्त्री शेर बहादुर तामांगले पनि खोप खरिदको प्रक्रियाबारे छलफल भइरहेको बताएका थिए ।
चीनको सिनोफार्म र अमेरिकाको जन्सन एण्ड जन्सनबाट ५०/५० लाख डोज खरिदको प्रक्रिया अघि बढेको अनुसार नै सरकारले चीनबाट हाल ४० लाख डोज खोप खरिद गर्न लागेको डा.अधिकारीले बताए ।