एस्ट्राजेनेकाको १४ लाख डोज खोप नेपाललाई सहयोग गर्न डब्ल्यूएचओको आग्रह
काठमाडौं, २ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध एस्ट्राजेनेकाले बनाएको १४ लाख डोज खोप नेपाललाई सहयोग गर्न आग्रह गरेको छ ।
डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. राजेश पाडवले नेपाललाई खोप सहयोग गर्न अन्तर्राष्ट्रिय आग्रह गरेका हुन् । डब्ल्यूएचओ नेपालले सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियोमा पाडवले, ‘अहिले नेपालीहरुलाई तपाईंको सहयोग चाहिएको छ । उनीहरुले अन्य पर्यटकलाई देखाउने जस्तै उदारता अहिले उनीहरुलाई चाहिएको छ । अहिलेको आवश्यकता भनेको दोस्रो डोज लिन बाँकी रहेका ६५ वर्षभन्दा माथिका १४ लाख मानिसलाई खोप पुर्याउनु हो ।’ भनेका छन् ।
भारतको सेरम इन्ष्टिच्युटसँग खरिद गरेको कोरोना खोप (कोभिशिल्ड) खोप नआएपछि नेपालमा पहिलो डोज खोप लगाइसकेका १४ लाख मानिसहरु दोस्रो डोज खोपको पर्खाइमा छन् ।