बजेट प्रदेश १

स्वास्थ्य तर्फ ३ अर्ब २५ करोड बजेटः कोरोना महामारी नियन्त्रणका लागि ४४ करोड छुट्याइयो



Download our app to get more features

विराटनगर, १ असार । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि स्वास्थ्य तर्फ ३ अर्ब २५ करोड बजेट विनियोजन गरेको छ ।

मंगलवार आर्थिक मामिला तथा योजनना मन्त्री टंक आङ्बुहाङले बजेट प्रस्तुत गर्दै प्रादेशिक तथा जिल्ला अस्पतालहरुको स्तरोन्नतिका साथै खोपलगायतको प्रदेशबासीको स्वास्थ्योपचार बजेटमा प्राथमिकतमा परेको बताए ।

कोभिड १९ रोगको पहिचान, नियन्त्रण, रोकथाम उपचार र भविष्यमा आउन सक्ने महामारीविरुद्ध लड्न तिनै तहका सरकारहरुबीच समन्वय र सहकार्यका लागि बजेट विनियोजन गरिएको छ भने संघ तथा स्थानीय तहको सहयोग, समन्वय र सहकार्यमा प्रदेशका सबै नागरिकको लागि कोरोनाविरुद्धको उपलब्ध गराउनका लागि पनि बजेट विनियोजन गरिएको छ ।

कोरोना महामारी रोकथाम नियन्त्रण र उपचारका लागि ४४ करोड बजेट विनियोजन गरेको छ भने नेपाल सरकारको सहयोग र सहकार्यमा गुणस्तरीय स्वास्थ्य सेवा, प्रदेश सरकारको प्रतिवद्धता नाराका साथ प्रदेश मातहतका अस्पतालका लागि गुरुयोजना तयार गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

झापाको मेची अस्पताललाई २ सय बेड, पाँचथर र धनुकटा जिल्ला अस्पताललाई सय÷सय बेड र अन्य जिल्ला अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ ।

प्रमुख स्थानमा रहेका र सेवा सघनता भएका अस्पतालमा आईसीयू, सीसीयू, एचडीयू र भेन्टिलेटरसहित आफ्नै अक्सिजन उत्पादन वा अक्सिजनको भरपर्दो भण्डारणको प्रवन्ध गर्नका लागि बजेट विनियोजन गरिएको छ भने औषधि लगायतका सामग्रीको सहज आपुर्ति तथा वितरण व्यवस्थापनका लागि नेपाल सरकारसँग समन्वय तथा सहकार्यमा साधानहरुको अधिकतम परिचालनका लागि बजेट विनियोजन गरिएको छ । 

प्रदेश भित्र सबै जिल्ला सदरमुकममा जटिल र संक्रामक रोगको परीक्षण र उपचार हुने गरी स्वास्थ्य प्रणाली तथा संरचनामा सुधार गर्ने प्रवन्ध मिलाइनेछ । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीको स्तरोन्नती तथा प्रदेशका प्रमुख स्थानमा रहेका अस्पतालहरुलाई विस्तारीत गरी रेफरल अस्पतालको रुपमा विकास गर्दै जिल्ला अस्पताल र रेफरल अस्पताल मार्फत् टेलि मेडिसिन सेवाका लागि बजेट विनियोजन गरिएको छ ।

विशेषज्ञ स्वास्थ्य सेवा तथा अनुभव आदान प्रदान गर्न निजी स्वास्थ्य सेवा प्रदायकहरुसँग साझेदारी गरिनेछ भने पूर्वाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयलाई प्रादेशिक अस्पतालको रुपमा विकास गरि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा औषधालयलाई क्रमिक रुपमा आयुर्वेद अस्पतालमा स्तरोन्नतीका लागि बजेट विनियोजन गरिएको छ ।

एक पालिका एक महिला स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम तथा कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकालाई उपचारमा सहयोग गर्न पनि बजेट विनियोजन गरिएको छ ।

विपन्न तथा गरीब वर्ग र असहायहरुको स्वास्थ्य उपचारका लागि उपचार कोषको स्थापनाका लागि पनि बजेट विनियोजन गरिएको छ ।
 

Last modified on 2021-06-15 20:51:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts