सरकारले ल्यायो ‘मेरी संगिनी’ परिवार योजना एप

काठमाडौं, १ असार । सरकारले परिवार योजना सम्बन्धी ‘मेरी संगिनी’ मोबाइल एप सुरु गरेको छ ।
नेपाल सी.आर.एस. कम्पनी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिवार योजना सम्बन्धी ‘मेरी संगिनी’ मोबाइल एप सुरु गरेको हो ।
अस्थायी र छोटो अवधिका परिवार योजनाका साधनहरुकोबारे विस्तृत जानकारी दिने उदेश्यले मेरी संगिनी मोबाइल एप सुरु गरिएको बताइएको छ ।
मेरी संगिनी एपबाट प्रदान गरिएको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधनहरु सम्बन्धी तथा सो साधनको प्रयोगबाट पर्न जाने साधारण प्रतिअसरहरुको समेत जानकारी, प्रजनन उमेरको जो कोहिलाई अति उपयोगी हुने भएता पनि विशेष गरि किशोर तथा किशोरी एवं नवविवाहित जोडीहरुलाई अत्यन्त उपयोगी हुने सी.आर.एस.ले जनाएको छ ।
एपमा भएको “प्राय सोधिने प्रश्नहरु” खण्डले परिवार योजनाका अस्थाई तथा छोटो अवधिका साधन प्रयककगकर्ताहरुलाई अझ विस्तृत जानकारी दिनुको साथै सम्भाव्य प्रयोगकर्ताहरुलाई साधनहरुको सुसुचित छनौट गर्न मदत गर्ने छ ।
साथै एपमा आफु नजिकैको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औशधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्शा पनि उपलब्ध हुने हुँदा आफु नजिकैको तालिम प्राप्त र दक्ष्य सेवा केन्द्रबाट आफुलाई उपयुक्त हुने साधनको सेवा समेत लिन मदत गर्ने छ ।
परिवार कल्याण महाशाखाका निर्देशक डा.तारा नाथ पोख्रेलले परिवार योजनाका साधनहरुको पहुच बढाउनका निम्ति मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपुर्ण रहेको र मेरी संगिनी एपले उपभोक्ताहरुलाई अस्थायी गर्वनिरोधक साधनबारे सुसुचित छनौट गर्न सहयोग पुर्याउने बताए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाले एपले परिवार योजना र यस सम्बन्धी विषयमा विस्तृत जानकारी सजिलोसँग हासिल गर्न मदत हुने बताइन् ।
यस्तै नेपाल सी.आर.एस. कम्पनीका प्रबन्ध निर्देशक जिबलाल पोखरेलले मातृ मृत्युदर घटाउन परिवार योजनाको ठुलो भमिका रहेको र प्रयोगकर्ता माझ सहि र अद्यावधिक सूचनाको पहँुच बढाउनमा सञ्चार प्रविधिको ठुलो महत्व रहेको बताए ।
उनले एप मार्फत सेवा प्रयोगकर्तालाई सेवा प्रदायकसँग सजिलै जोड्न सक्ने सम्भावना भएको हुँदा सेवाग्राहीहरुलाई सेवाको पहुँच बढाई परिवार योजना सेवाको अपरिपुर्त माग घटाउन समेत मदत पुग्ने बताए ।
मेरी संगिनी एप, यु.एस.ए.आई.डिको आर्थिक एवं सप्स प्लस को प्राबिधिक सहयोगका तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रको समन्वयमा नेपाल सी.आर.एस.कम्पनीद्वारा निर्माण गरिएको हो ।