काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो

काठमाडौं, १ असार । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ।
पछिल्लोपटक काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले केही खुकुलो गरी असार ७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका थिए, जुन आदेखि कार्यान्वयनमा आएको छ।
आजदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ। मनिङवाकमा आउजाउ गर्नेलाई अब प्रहरीले रोक्दैन।
विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर) लाई अपरान्ह ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ।
होटलमा ‘टेक अवे’ सेवालाई निरन्तरता दिने निर्णय भएको थियो। अनलाइन डेलिभरीका लागि होटललाई बिहान ७ बजेदेखि काम गर्न दिइने प्रजिअहरूले बताएका छन्।
विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदूरहरू राख्न पाइने भएको छ।
वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाउँछन्। अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ।
एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र देखाउनु पर्दैन।
बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ। सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कृषिजन्य कामका लागि मल ढुवानी र बीऊ बिजनका पसलहरू खुल्न दिने निर्णय भएको छ।
कूटनीतिक निकायबाट जारी हुने भिसा, परीक्षा र अन्तर्वार्ताका लागि आउजाउ गर्ने मानिसहरूलाई नरोकिने भएको छ।