काठमाडौंमा निषेधाज्ञा एक हप्ता थपिँदै, कृषि र विकास निर्माण प्राथमिकतामा
काठमाडौं, ३० जेठ । काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्न आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।
दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उनका अनुसार यसपालि विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ । नयाँ शैक्षिक सत्र नजिकिए पनि विद्यार्थीले पुस्तक नपाएपछि यसपालि पुस्तक पसल खुलाउने तयारी गरिएको हो ।
यस्तै, कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने छ । यसका लागि निश्चित समय तोकिने छ । ढुवानी र जनशक्तिको व्यवस्थापन कुन समयमा कसरी मिलाउने भन्नेबारे आज निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो । निषेधाज्ञा थप्नेबारे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले केही दिनयतादेखि सम्बन्धित निकायसँग छलफल गर्दै आएका थिए ।
उपत्यकामा पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिदेखि सकिँदैछ ।