नेपालमा कोरोना संक्रमित थपिने दर निरन्तर घट्दै, निको हुनेको संख्या ५ लाख २७ हजारभन्दा बढी
काठमाडौं, २९ जेठ । नेपालमा लगातार कोरोना संक्रमणको दर घट्दै गएको छ ।
पछिल्लो समय सरकारले सार्वजनिक गर्ने कोरोना सम्बन्धी तथ्यांकमा कोरोनाको संक्रमित थपिने दर निरन्तर ओरालो लाग्दै गएको देखिन्छ ।
गत २४ घन्टामा देशभर ३ हजार ३ सय ८४ नयाँ संक्रमित थपिएका छन् । देशभर गरिएको १४ हजार ४ सय ९४ कोरोना परीक्षणमा जम्मा ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण देखिएको हो ।
शुक्रवार पनि ४ हजारभन्दा कममा कोरोनाको संक्रमण देखिएको थियो भने विहीबार पनि ४ हजारभन्दा कममा संक्रमण देखिएको थियो ।
हालसम्म नेपालमा आरटी पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा ६ लाख ६ हजार ७ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एन्टीजेन विधिबाट गरिएको परीक्षणमा हालसम्म १९ हजार ७ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या भने निरन्तर उकालो लाग्दै गएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ हजार २ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको छ । यो दर कुल संक्रमितको ८६ दशमलव ९ प्रतिशत हो ।