बी एण्ड सीलाई सम्बन्धन दिने विषय सहमति नजिक, अन्तिम निर्णय हुन बाँकी
काठमाडौं, २९ जेठ । चिकित्सा शिक्षा आयोगले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको छ ।
आयोगको शुक्रवार बसेको बैठकले बी एण्ड सीलाई सम्बन्धन दिने विषयमा छलफल गरेको हो । छलफलमा बी एण्ड सीलाई सम्बन्धन दिने सहमति जस्तै भएको आयोगका एक जना पदाधिकारीले नाम नखुलाउने शर्तमा हाम्रो डक्टर न्यूजलाई बताए ।
उनले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बि एण्ड सीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति भएको पनि बताए । उनले भने, ‘बी एण्ड सीलाई सम्बन्धन दिने सहमति भएपनि अन्तिम निर्णय भने हुन बाँकी छ । त्यसका लागि अध्यक्ष र उपाध्यक्षले नै प्रक्रिया अघि बढाउने हुन् । कहिलेसम्म अन्तिम निर्णय भइसक्छ भन्ने विषयमा अहिले नै भन्न सकिँदैन ।’
प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने दुर्गा प्रसाइँको बी एण्ड सी कलेजलाई जबरजस्ती र गैर कानूनी रुपमा सम्बन्धन दिन लागेको भन्दै चर्को विरोध हुँदै आएको छ ।
काठमाडौं विश्वविद्यालयले बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर (प्रस्तावित) लाई सम्बन्धन दिनका लागि स्विकृति दिन यसअघि नै जेठ ३ मा चिकित्सा शिक्षा आयोगमा पत्र पठाएको थियो ।
ऐन अनुसार मन्त्रालयबाट सम्बन्धन लिने बेलामा नै बी एण्ड सीको सम्बन्धन दिने आशय पत्र पेश नगरेको भन्दै आयोगका पदाधिकारीले नै असन्तुष्टि जनाएका थिए । स्विकृति दिनका लागि विश्व विद्यालयबाट आएको पत्रकै आधारमा सम्बन्धन दिन नमिल्ने बताएको आयोगले प्रधानमन्त्री र शिक्षामन्त्रीको दवावमा सम्बन्धन दिन लागेको देखिन्छ ।
आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी र प्रसाइँबीच आरोप प्रत्यारोप हुँदै आएको छ ।
यता, प्राध्यापक डा. गोविन्द केसी र अन्य नागरिक अगुवाहरुले पनि बी एण्ड सीलाई सम्बन्धन दिन लागेको भन्दै विरोध गर्दै आएका छन् ।