भरतपुर अस्पतालमा ४० जनाको निःशुल्क हाइड्रोसिलको अप्रेशन



Download our app to get more features

चितवन, २८ जेठ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा यस आर्थिक वर्षमा ४० जनाको निःशुल्क हाइड्रोसिलको अप्रेशन गरिएको छ । गत साउनदेखि यता अहिलेसम्म ४० जनाको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालका सर्जरी विभागका विभागीय प्रमुख डा. नारद प्रसाद थपलियाले जानकारी दिए।

उनका अनुसार अघिल्लो आर्थिक वर्षमा अस्पतालले ६२ जना हाइड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया गरेको थियो । कोरोना कहरका कारण यस वर्ष यो संख्यामा कमी आएको उनले बताए। शुक्रवार अस्पतालले हाइड्रोसिलका बिरामीको कसरी थप प्रभावकारी रूपमा उपचार गर्न सकिन्छ भन्ने बारे छलफल कार्यक्रम राखेको थियो। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रोशन न्यौपानेको अध्यक्षतामा सो कार्यक्रम सञ्चालन गरिएको हो।

डा. न्यौपानेले अस्पतालले यस्ता निःशुल्क कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए। यसलाई थप प्रभावकारी बनाउन तथा सबै तहका सर्वसाधारणलाई यसको पहुँचमा ल्याउन आफू सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा अहिलेसम्म यस सेवाको समग्र अवस्था बारे सर्जिकल वार्डकी नर्सिङ ईन्चार्ज गिता देवी भट्टराईले जानकारी गराएकी थिइन् ।

हाइड्रोसिल अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुने रोग हो। यो एक वा दुवै अण्डकोषमा हुन सक्छ। यसमा जम्मा भएको पानीले गर्दा अण्डकोष सुनिएको जस्तो देखिन्छ। नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले यसको निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको छ।

Last modified on 2021-06-12 10:12:43

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts