लक्षित समूहका व्यक्ति नै खोप लगाउनबाट वञ्चित, छुटेकालाई अर्को चरणमा समेटिने



Download our app to get more features

काठमाडौं, २८ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले भेरोसेल खोप लगाउन छुटेका ६० देखि ६४ वर्षका नागरिकलाई अर्को चरणमा समेट्ने बताएको छ । चीनबाट अनुदानमा आएको १० लाख डोज भेरोसेल खोप ६० देखि ६४ वर्षका उमेर समूहका सबैलाई दिने भनिए पनि खोपको अभाव भएपछि त्यो सम्भव नहुने भएको छ ।

खोप केन्द्रमा लक्षित समूहबाहेकका व्यक्तिहरू पनि खोप लगाउन लाइनमा बसेपछि उनीहरूलाई पनि खोप दिन बाध्य भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । यसले गर्दा धेरै ठाउँमा लक्षित समूह खोप लगाउनबाट छुटेका छन् ।

यस्तै कतिपय ठाउँमा भने लक्षित समूहलाई पुग्ने गरी खोप पठाउन नसक्दा पनि तोकिएको उमेर समूहका नागरिक खोप लगाउनबाट छुटेका छन् । स्वास्थ्य मन्त्रालयले चीनबाट आएको १० लाख डोज खोप ६० देखि ६४ वर्षका सबै नागरिकलाई नपुग्ने भएपछि अन्तिम समयमा उमेर समूह परिवर्तन गरेको थियो । काठमाण्डौ उपत्यकामा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिरका लागि ६२ देखि ६४ वर्ष उमेर समूह तोकेको थियो ।

  खोप अभाव भएसँगै लक्षित यो समूहका केही नागरिकले अहिले खोप नपाउने निश्चित भएको छ । स्वास्थ्य मन्त्रालयले दोस्रो मात्रा दिन पुग्ने गरी खोपको सुनिश्चितता गरेर मात्रै पहिलो मात्रा देशका ७७ वटै जिल्लामा पठाएको थियो । यसले गर्दा पहिलो मात्राका लागि माग आए पनि खोप पठाउन सक्ने अवस्था नरहेको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताए । 

अहिले पहिलो मात्रा लगाएकाहरूले २८ दिनपछि दोस्रो मात्रा पाउने छन् । अहिले छुटेका लक्षित समूहका नागरिकलाई खोप आएपछि समेटिने गौतमले बताएका छन् । अहिले खोप लगाउन छुटेकाहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई पछि समेट्ने उनले जानकारी दिए । 

सरकारले खोप खरिदका लागि अमेरिका, रुस, बेलायत लगायत विभिन्न देशसँग पहल गरे पनि खोप आउनेबारे अझै टुङ्गो लागेको छैन । 

Last modified on 2021-06-12 18:34:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts