चिकित्सा शिक्षामा खेलाँची नगरः विवेकशील साझा



Download our app to get more features

काठमाडौं, २८ जेठ । मेडिकल शिक्षाका विकृति अन्त्य गर्न ल्याइएको चिकित्सा शिक्षा ऐन विपरीत एक निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको विवेकशील साझा पार्टीले बताएको छ। 

स्वायत्त हुनुपर्ने चिकित्सा शिक्षा आयोगमाथि ठाडो हस्तक्षेप गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आयोग पदाधिकारीलाई अवैध काम गर्न निरन्तर दबाब दिएको र त्यसका कारण आयोग नै धराशायी हुने अवस्थामा पुगेको भन्ने समाचारहरूले आफूहरुलाई स्तब्ध बनाएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

‘प्रधानमन्त्रीको यो सम्भावित कदम निकै गम्भीर छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘व्यक्ति विशेषका लागि मुलुकको कानुन कुल्चँदै र नियामक निकायलाई धराशायी बनाउँदै जाने शृङ्खलाले कसैगरी थप निरन्तरता पाउनु हुँदैन।’ 

यस्ता गतिविधिले देश दण्डहीनता र अराजकताको थप सिकार बनी स्वायत्त संस्थाहरू असफल हुने विवेकशील साझाको भनाइ छ। 

आज हुने भनिएको चिकित्सा शिक्षा आयोगको बैठकमा उठ्ने सबै विषयमा विधि र प्रक्रियासम्मत तरिकाले मात्रै निर्णय गरियोस् भन्दै विवेकशील साझा पार्टीले प्रधानमन्त्रीलगायत सम्बन्धित सबैको ध्यानाकर्षणसमेत गराएको छ। 

नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा व्याप्त विकृतिहरू विरुद्ध स्थापनाकालदेखि नै लड्दै आएको बताउँदै विवेकशील साझा पार्टीले मेडिकल शिक्षा सुधारका पक्षमा डाक्टर गोविन्द केसीको अनवरत आन्दोलनमा समेत हामी नजिकबाट सरिक रहँदै आएको बताएको छ। निःशुल्क र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भन्ने हाम्रो पार्टीको प्रमुख एजेन्डा रहेको समेत विज्ञप्तिमा उल्लेख छ।

Last modified on 2021-06-12 18:33:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts