बूढानीलकण्ठ नगरपालिकामा आज ६० देखि ६४ वर्षका नागरिकलाई खोप लगाइने
काठमाडौं, २८ जेठ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले स्थगित खोप कार्यक्रम आज फेरि सुरु गर्ने भएको छ । सीमित खोप आएकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई आज फेरि खोप लगाइने नगरपालिकाले जनाएको छ ।
खोप बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै दिइनेछ । खोपका लागि उमेर खुल्ने सरकारी कागजात लिइ खोप केन्द्रमा जान र लक्षित समूहबाहेकलाई खोप लगाउन नजान पनि नगरपालिकाले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले थप पाँच सय डोज उपलब्ध गराएकाले आज प्राप्त खोप लगाउन लागिएको नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए ।
खोप केन्द्र बूढानीलकण्ठ नगरपालिका २ मा रहेको गणेश चोक र वडा नम्बर १० मा रहेको बालउद्धार माविमा राखिएको छ । गएको सोमवार र मङ्गलवार नगरपालिकाका एक हजार नौ सय आठ जनालाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाइएको थियो ।