एचआइभी पोजेटिभहरुलाई घरघरमा एआरभी औषधि
काठमाडौं, २२ जेठ । कोभिडको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि पुर्याउने व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पुर्याउँदै आएको हो ।
यस कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार छ जना रहेका छन् । जसमध्ये ४५ जना बालबालिका रहेका छन् । औषधि सेवन गर्दै आएका मध्ये ३० प्रतिशतले अस्पतालमानै आएर औषधि लैजाने गरेका छन् भने बाँकी ७० प्रतिशतलाई घरमानै पुर्याउने व्यवस्था गरिएको कार्यालयका प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए । उनका अनुसार अहिले भरतपुर महानगरपालिका र आसपासका पालिकाहरुबाट अस्पतालमा औषधि लिन आउने गरेको भए पनि टाढा टाढा कार्यालयले नै पुर्याउँदै आएको छ ।
यसका लागि सहभागी, चितवन सक्रिय महिला प्रतिष्ठान र लुम्बिनी प्लस नामक संस्थाले सहयोग गरेका छन् । कार्यालयका तर्फबाट कर्मचारी धिरण अधिकारीले औषधि पुर्याउँदै आएका छन् । यस कार्यालयले चितवन, मकवानपुर, बर्दघाट–सुस्ता पूर्व नवलपरासी, बर्दघाट –सुस्ता पश्चिम नवलपरासी, गोरखा, लमजुङ, तनहुँ र धादिङ्का सङ्क्रमितहरुलाई घरमानै औषधि पुर्याउने गरेको छ ।
उनले भने, निषेधाज्ञा सुरु भएदेखि अहिलेसम्म ३ सय ९० जनालाई घरमानै औषधि पुर्याएका छौ । नजिकका भए एक महिनाको लागि र टाढाका भए दुई महिनाको लागि औषधि पुर्याइँदै आइएको उनले जानकारी दिए । औषधि वितरणका लागि भरतपुर अस्पतालले सहजीकरण गरेको औषधि पुर्याउँदै आएका अधिकारी बताउछन् ।
उनले भने, एचआइभी एड्स सङ्क्रमितहरुलाई घरमा औषधि पुर्याउनका लागि भरतपुर अस्पतालको ठूलो सहयोग रहेको छ । परिचय पत्र निर्माणदेखि स्थानीय प्रशासनसँग समन्वय गर्ने काम अस्पतालले गरिदिएको छ ।
कोरोना कहरका कारण अस्पतालमा आएर औषधि लिन नसक्ने एचआइभी सङ्क्रमितहरु घरमानै औषधि पाउँदा लाभान्वित भएका छन् । फाउण्डेसनमा दर्ता भएका १ हजार ५ सय ८५ जना सङ्क्रमित रहेका छन् । उनीहरुमध्ये कतिपयले अन्य केन्द्रबाट औषधि लिँदै आएका छन् ।