स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा सजाय सहितको अध्यादेश ल्याउने निर्णय
काठमाडौं, २१ जेठ । सरकारले बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुविरुद्ध कडा सजाय गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। हिजो साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदले अध्यादेश ल्याउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।
उनले भने, ‘यो निकै पहिले नै आउनु पर्ने विषय थियो । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हुने आक्रमणलाई नियन्त्रण गर्नका लागि ल्याउनै पर्दथ्यो । र त्यो ल्याउने निर्णय भएको छ ।’ मन्त्री ज्ञवालीले स्वास्थ्यले पठाएको मस्यौदामा केही संसोधन गरेर पास गरेको बताए ।
हिजो नै अपरान्ह नेकपा एमालेको स्वास्थ्य विभागले गरेको कार्यक्रममा त्यसका प्रमुख रहेका खगराज अधिकारीले छिटै अध्यादेश सम्वन्धी निर्णय हुने बताएका थिए । उनले अध्यादेशमा आफूहरुले थप केही संसोधनका बुधाहरु दिएको समेत जानकारी दिएका थिए ।
यता नेपाल चिकित्सक संघले पनि एक साता भित्र अध्यादेश ल्याउन सरकारलाई अल्टीमेटम दिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संधोन गर्न अध्यादेशको मस्यौदा तयार पारी मन्त्रिपरिषदमा पठाएको थियो। उक्त मस्यौदा अनुसार स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई चार वर्षसम्म जेल सजाय गर्न सकिने व्यवस्थाको प्रस्ताव गरिएको छ।
अध्यादेशमा कसुर र सजाय सम्बन्धी व्यवस्थामा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउन गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्याउने कार्य गरेमा र स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई दुईलाख रुपैयाँसम्म जरिवार वा चारवर्षसम्म कैद वा दुवै सजायको प्रस्ताव गरिएको छ।
पछिल्लो समय भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेपछि अध्यादेशबाटै पहिलेको कानून संसोधन गर्न चर्को माग भएको थियो ।