स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र आक्रमण प्रयास गर्नेलाई हदैसम्मको कारबाहीको माग



Download our app to get more features

चितवन, २१ जेठ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले आफ्नो स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार र आक्रमण प्रयास गर्नेलाई हदैसम्मको कारबाहीको माग गरेको छ । बिहीवार बसेको अस्पताल विकास समितिको बैठकले उक्त घटनाको घोर भर्त्सना सहित कडा कारबाहीको माग गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रोशन न्यौपानेद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा भेरी अस्पताल र भरतपुर अस्पतालमा भएका घटनाहरुको घोर भर्त्सना गरिएको छ । भरतपुर अस्पताल फार्मेसीमा यही जेठ १७ गते रातीको समयमा ड्यूटीमा रहेका स्वास्थ्यकर्मीमाथि अज्ञात व्यक्तिले दुर्व्यवहार एवं आक्रमण प्रयास गरेको विज्ञप्तिमा जनाएको छ । अस्पतालमा भएको उक्त घटनाका सम्बन्धमा आवश्यक छानविन गरी दोषी उपर कारबाही गर्न जिल्ला प्रशासन कार्यालय चितवनमा आवश्यक कारवाहीका लागि अनुरोध गरि सकिएको अस्पतालले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको समयमा अस्पतालको ड्यूटीमा खटिने स्वास्थ्यकर्मीहरुले उच्च मनोवल एवं सुरक्षा प्रत्याभूतिका साथ कार्य गर्ने वातावरण सिर्जना गर्न प्रशासन समक्ष अस्पतालले अनुरोध गरेको छ । अस्पतालले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ संक्रमितको उपचारमा अहोरात्र खटिने चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीको मनोवल उच्च राख्न सुरक्षाको प्रत्याभूति दिलाउन एवं यस्ता किसिमका निन्दनीय घटनामा संलग्न दोषी उपर हदैसम्मको कारबाही गर्न सरोकारवाला निकायहरुको ध्यानाकर्षण समेत गराएको छ ।

संघ र युनियनको समेत गम्भिर ध्यानाकर्षण

यसैबिच नेपाल फार्मेसी संघ चितवन शाखा र भरतपुर अस्पताल कर्मचारी युनियनले समेत उक्त घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उनीहरूले छुट्टाछुट्टै विज्ञप्ति मार्फत अस्पतालमा भएको सो घटनाको सम्बन्धमा आवश्यक छानविन गरी दोषी उपर हदैसम्मको कारबाही गर्न माग समेत गरेका छन् ।

के थियो घटना ?

मादक पदार्थ सेवन गरी आएका अपरिचित व्यक्तिले ड्यूटीमा रहेको समयमा आफूलाई गाली गलौज र भौतिक आक्रमणसमेत गरेको भरतपुर अस्पताल फार्मेसीमा कार्यरत फर्मासिष्ट प्रभात पौडेल जनाएका छन् ।

उनका अनुसार यही जेठ १७ गते मध्यरातको समयमा तीन जनाको समुहमा आएको अपरिचित व्यक्तिले गाली गलौज र भौतिक आक्रमणसमेत गरेका थिए । आफूलाई धम्कीपूर्ण व्यवहार गरेको पौडेलले बताए । ती अपरिचित समूहले सो अस्पतालमा फर्मासिष्टहरूले केही दिन अघि गरेको आन्दोलनको विषयमा समेत बोलेका पौडेलले बताए । उनीहरूले फर्मासिष्टको माग पुरा नहुने बताएका थिए । त्यस विषयलाई लिएर कर्मचारीहरूले कसैबाट उनीहरू परिचालित भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

उक्त घटनाको सिसिटिभी फुटेज सहितको घटना विवरण प्रहरीमा बुझाईएको जनाइएको छ । सो घटनाको आवश्यक छानबीन भइरहेको प्रहरीले जनाएको छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई अब कडा कारवाही हुने

नेकपा एमालेको स्वास्थ्य विभागले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको अध्यादेश छिटै लागू हुने दावी गरेको छ । बिहीवार अपरान्ह गरेको भरच्युअल पत्रकार अन्तरक्रिया कार्यक्रममा विभागका प्रमुख एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको अध्यादेश छिटै आउने बताए । उनले मस्यौदामा छुट भएका विषयहरुबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको भन्दै आउने अध्यादेशमा ती विषय समेत जोडिएर आउने विश्वास व्यक्त गरे ।

‘स्वास्थ्य मन्त्रालयले तयार गरेको अध्यादेश अहिले कानून र अर्थ मन्त्रालयको राय लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा पुगिसकेको छ । त्यहाँबाट पनि अहिले मन्त्रिपरिषदको विधेयक समितिमा छलफलको क्रममा रहेको छ । अब प्रधानमन्त्रीलाई ब्रिफिङ गरी अन्तिम रुप दिने तयारीमा छ । त्यसपछि मन्त्रिपरिषदले सिधै राष्ट्रपतिकोमा पठाउने छ,’ उनले भने ।

उनले अध्यादेशमा संकटकालको बेलामात्रै नभई सधैभरी नै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने उपर दुई लाख रुपैयाँ जरिवाना र चार वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित कडा कारवाही गर्ने कानून ल्याउनका लागि सुझाव दिएको बताए ।

Last modified on 2021-06-04 12:35:46

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts