पहिलो चरणमा अमेरिकाले साढे २ करोड डोज कोरोनाविरुद्धको खोप बाँड्ने, नेपालपनि सूचीमा



Download our app to get more features

काठमाडौं, २१ जेठ । अमेरिकाले पहिलो चरणमा वितरण गर्न लागेको कोरोनाविरुद्धको खोप नेपाललाई पनि दिने भएको छ ।

अमेरिकाले दिने भनेको ८ करोड डोज खोपमध्य पहिलो चरणमा २ करोड ५० लाख डोज खोप मात्रै वितरण गर्ने भएको छ । 

अमेरिकाले जुन महिनाभरिमा कोभिडविरुद्धको ८ करोड मात्रा खोप विश्वका विभिन्न मुलुकलाई बाँड्ने भनेको थियो । सोही अनुसार पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्न लागेको हो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले ट्वीट गर्दै पहिलो चरणमा वितरण गरिने खोप कोभ्याक्समार्फत् दिइने र नेपाल पनि सूचीमा रहेको बताएको छ । तर, नेपाललाई कति मात्रा खोप दिइनेछ त्यस विषयमा भने खुलाइएको छैन ।

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकाले प्रत्यक्ष खोप सहयोग गर्ने देशहरूमा नेपाल पनि रहेको भन्दै त्यसबारे थप विवरण चाँडै आउने बताएका छन् ।

अमेरिकाले खोप उपलब्ध गराउने घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक ट्वीट गर्दै नेपाललाई अमेरिकी खोप सहयोगको निर्णयको स्वागत गरेका छन् ।

उनले अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिलाई जीवन रक्षक खोपको निम्ति नेपालले गरेको अपीललाई स्वीकार गरेकोमा धन्यवाद दिएका छन् ।

Last modified on 2021-06-04 11:18:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts