फलफुल त खाने तर कुन बेला खाने ? जानौं...
फलफूल स्वास्थ्यका लागि फाइदाजनक हो भनेर सबैले बुझेका छौं । तर, तीनै फलफूल सेवन गर्ने समयबारे भने सबैलाई थाहा नहुन सक्छ । स्वास्थ्यका लागि फाइदाजनक मानिएको फलफूलको सेवान कुन बेला गर्दा त्यसले स्वास्थ्यलाई भरपूर फाइदा हुन्छ त्यसबारे पनि जान्न जरुरी हुन्छ ।
अहिलेको अवस्थामा चिकित्सकहरुले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन र शरीरलाई बलियो बनाउनका लागि फलफूलको सेवन गर्न सुझाव दिन्छन् । तर, कुन फलफूलसहित केहि खाने कुरा कति खाने र कुन बेला खानेबारे थाहा नहुँदा त्यसले फाइदाको साटो नोक्सान हुन सक्छ ।
जानौं कुन फलफुल कुन समय खाने :—
केरा: केरा दिउँसोको खानासँगै खायो भने रोगप्रतिरोधात्मक क्षमताको विस्तार गर्नुको साथै छालालाई पनि सुन्दर बनाउँछ । बेलुकाको खानापछि केरा नखाँदा नै राम्रो हुने चिकित्सकहरूको भनाइ छ । बेलुका केरा खाँदा खकार बढ्ने र पाचन पक्रियामा पनि समस्या हुने उनीहरूको भनाइ छ ।
स्याउ: स्याउ पनि राती भन्दा दिउँसो वा बिहान नै खान चिकित्सकहरूले सुझाएका छन् । बिहान वा दिउँसो स्याउ सेवन गर्दा स्याउमा हुने पेक्टिनले रगतमा चिनीको मात्रा र कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । रातको समयमा स्याउ सेवन गरे यसमा हुने पेक्टिनलाई पचाउन गाह्रो हुने र पेटमा एसिडको मात्रा बढ्न सक्छ ।
आलु: आलुलाई तरकारीको राजा पनि भनिन्छ । जुनसुकै तरकारीमा पनि मिसाउन मिल्ने हुँदा त्यसो भनिएको हो । तर, आलुलाई खाजाको रुपमा मात्रै प्रयोग गर्न चिकित्सकहरूको सल्लाह छ । यसमा हुने भरपुर खनिजले दिनभर ताजा बनाइ राख्न मद्दत गर्छ । बेलुकाको खानामा सकेसम्म आलुको प्रयोग नगर्न चिकित्सकहरुको सुझाब छ । किनकी यसमा हुने क्यालोरीले तौल बढ्न मद्दत गर्छ ।
नट्स: बदाम, काजु किसमिस (नट्स) लगायतका खानेकुरा बिहान र बेलुका भन्दा पनि दिउँसोको खानासँगै खाँदा अपेक्षित फाइदा हुने चिकित्सकहरूको भनाइ छ । यस्ता खानेकुरा दिउँसो सेवन गर्दा रक्तचाप नियन्त्रणमा रहने र मुटुलाई स्वस्थ बनाउन मद्दत गर्ने भनाइ छ । रातको खानामा सकेसम्म नट्सलाई समाबेश नगर्न चिकित्सकहरूको सुझाब छ । यसमा भएको उच्च क्यालोरीले तिव्रगतिमा मोटोपन बढ्न सक्ने उनीहरुको भनाइ छ ।
सुन्तला: कहिल्यै पनि खाली पेटमा सुन्तला खानु हुँदैन । खाली पेटमा सुन्तला खाएमा ग्यास भरिनुका साथै पेटमा संक्रमण समेत हुनसक्ने चिकित्सकहरूको सुझाब छ । सुन्तलालाई जहिले पनि स्न्याक्सको रुपमा मात्रै प्रयोग गर्नुपर्छ । स्न्याक्सका रुपमा जुनसुकै बेला पनि प्रयोग गर्न सकिनेछ ।
गोलभेँडा: गोलभेँडालाई ब्रेकफाष्टका रुपमा प्रयोग गरे अपेक्षित फाइदा हुने विज्ञहरूको भनाइ छ । ब्रेकफाष्टमा गोलभेँडा प्रयोग गरे शरीरलाई आवश्यक पर्ने मेटाबोलिजम उत्पादनमा सहयोग गर्छ । बेलुकाको खानामा गोलभेँडा नखान चिकित्सकहरूको सुझाब छ । गोलभेँडामा भएको पेक्टिनलाई शरीरले रातमा पचाउन सक्दैन । साथै, राती गोलभेँडा खाएमा पेटभित्रका तन्तु सुन्निने सम्भावना पनि हुन्छ ।
मासु बेलुका नखाएकै राम्रो
मासु र मासुजन्य पदार्थ पनि बेलुका भन्दा दिउँसो खान चिकित्सकहरूको सुझाब छ । मासुलाई पचाउन कम्तीमा पनि ७ घण्टा लाग्ने हुँदा दिउँसोको समय उपयुक्त हुने उनीहरुको सुझाब छ । बेलुका खाना खाएर सुत्ने हुँदा कुनै बेला मासुलाई पचाउन शरीरलाई गाह्रो हुन्छ । बेलुका मासु सेवन गरेमा पाचनक्रियालाई नै नष्ट गर्नसक्ने चिकित्सकहरूको चेतावनी छ ।
दही: दहीलाई बिषेशगरी रातको खानामा समावेश गर्न चिकित्सकहरूको सुझाब छ । दहीमा भएका विभिन्न तत्वले खानालाई छिटो पचाउन मद्दत गर्छ । यस्तै खाली पेटमा दही कहिल्यै सेवन नगर्न पनि उनीहरूले सुझाएका छन् । खाली पेटमा दही सेवन गरे पेटमा भएका पाचन तन्तुलाई नै नष्ट गर्ने सम्भावना हुन्छ ।
(बीबीसी फूडबाट)