सबै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने
काठमाडौं, १५ जेठ । सरकारले आउँदो आर्थिक वर्षभित्र सबै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा स्वास्थ्य बीमाबारेमा जानकारी दिँदै अर्थ मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि सात अर्ब ५० करोड विनियोजन गरिएको बताए ।
स्वास्थ्य बीमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बीमा कार्यक्रमको दिगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने बजेट भाषणमा उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा आर्थिक वर्षका लागि बजेट भाषण भएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।
संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।