पोखरामा अक्सिजन अभावले आठ जना कोरोना संक्रमितको मृत्यु
कास्की, १४ जेठ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन अभावले आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गएरातिदेखि शुक्रबार बिहानसम्म आठ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
ज्यान गुमाउनेहरुमा सुत्केरी सहित, डायलाइसिस गरिरहेका, निमोनिया भएका, मधुमेहका बिरामीहरु समेत रहेको अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले बताए। मृत्यु हुनेमा तनहुँका ३, पोखरा, स्याङजा, पर्वत, म्याग्दी र बागलुङका एक/एक जना छन्।
अक्सिजनको अभावले संक्रमितको मृत्यु भएको बिरामीका आफन्तले आरोप लगाएका छन्। तर अक्सिजनको अभावले मात्र उनीहरुको मृत्यु नभएको अस्पतालले जनाएको छ। निर्देशक खत्रीले धेरैलाई निमोनिया भइसकेको भएर मृत्यु भएको बताए ।
अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन सप्लाई गर्ने २ वटा निजी कम्पनी पोखरा अक्सिजन र कालीगण्डकी अक्सिजन प्रालि छन् । जसमा डाक्टरहरुकै लगानी रहेको आरोप कतिपयले लगाउने गरेका छन् ।