कोरोनाका कारण मृत्यु हुने संख्या झन्डै एक महिनापछि २ अंकमा झर्यो, ४ सय ५० जना भेन्टिलेटरमा
काठमाडौं, १४ जेठ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ९६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा झन्डै एक महिनापछि कोरोनाका कारण मृत्यु हुने संख्या २ अंकमा झरेको छ । यसअघि नेपालमा वैशाख १६ मा ८८ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । त्यसयता नेपालमा लगातार कोरोनाका कारण मृत्यु हुनेदर बढ्दै गएको थियो ।
गत २४ घन्टामा ९६ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव २८ प्रतिशत हो ।
हाल नेपालभर रहेका संक्रमितमध्ये १ हजार ६ सय २७ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ भने ४ सय ५० जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
यस्तै हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३ सय ९४ रहेको छ । जसमा १ लाख ५ हजार ४ सय ४४ जना होम आइसोलेसनमा छन् भने ७ हजार ९ सय ५० जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।