नेपालमा कोरोना संक्रमणपछि निको हुनेको दर ७८ प्रतिशत नाघ्यो, थपिए ६९ सय ५१ संक्रमित

काठमाडौं, १४ जेठ । नेपालमा एकैदिन हालसम्म कै धेरै मानिसहरु कोरोना संक्रमणमुक्त भएका छन् ।
गत २४ घन्टामा देशभर ९ हजार ८ सय ४१ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । यो एकैदिन निको हुने हालसम्म कै धेरै संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ । यो दर कुल संक्रमितको ७८ दशमलव १ प्रतिशत हो ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमित थपिने भन्दा निको हुने दर क्रमशः बढ्दै गएको छ ।
यस्तै गत २४ घन्टामा लगातार तेस्रोदिन ७ हजारभन्दा कममा कोरोना भाइरसको संक्रमण पष्टि भएको छ । मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर २० हजार १ सय १० कोरोना परीक्षण गर्दा ६ हजार ९ सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
गत २४ घन्टामा १९ हजार ३ सय १३ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ६ हजार ८ सय ५५ र ७ सय ९७ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ९७ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ ।