भेरी अस्पतालमा संक्रमितको मृत्यु भएपछि डाक्टर र नर्समाथि कुटपिट, दोषीलाई कारबाही गर्न डाक्टरको माग
बाँके, १४ जेठ । बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्व्यवहार गरेका छन् । हिजो बेलुकी मृतकका आफन्तले कुटपिट गरेपछि अस्पतालमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
जेठ ४ गते भर्ना भएका दाङका एक जना बिरामीको मृत्यु भएपछि मृतकका परिवार र आफन्तले ड्युटीमा रहेका डाक्टर र नर्सलाई कुटपिट गरेका अस्पतालले जनाएको छ ।
अस्पतालका चिकित्सक डा. दिपक गुप्ताका अनुसार करिब साढे ९ बजेतिर कोभिड वार्डमै आएर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि ज्यान जोगाउन चिकित्सक तथा नर्सहरुले एक तला माथिबाट हामफालेका थिए ।
अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्युभएपछि उनका आफन्त आक्रोशित हुँदै स्वास्थ्यकर्मीमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ज्यान जोगाउन भाग्नुपर्ने अवस्था आएको बताए डा.गुप्ताले बताए।
यस्तै, कोरोना महामारीमा ज्यानको बाजी लगाएर बिरामीको उपचार गर्दै आएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र कुटपिट हुनु लज्जास्पद भएको डाक्टरहरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डाक्टर अनुप बास्तोलाले सामाजिक संजाल फेसबुकमा भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार निन्दनीय रहेको र यस्ता घटनाले हाम्रो समाजको चेतनास्तर देखाएको बताएका छन ।
उनले कोभिडका बिरामीको चाप सरकारी अस्पताललाई थेग्न हम्मेहम्मे परेको भन्दै अस्पतालको साधन स्रोत र जनशक्तिले उपचार सेवामा फरक पर्ने बताएका छन् । महामारीका बेला स्वास्थ्यकर्मीले समेत आफन्त गुमाएकाले यस्तो बेला धैर्य गर्न सिक्नु पर्ने उनको भनाइ छ ।