बारपाकमा गाउँभरि रुघाखोकी र ज्वरोका बिरामी, प्रदेशबाट गए १० जना स्वास्थ्यकर्मी
गोरखा अस्पतालबाट पनि चिकित्सक टोली खटाइने
गोरखा, १३ जेठ । गोरखाको बारपाकमा गाउँभरि रुघाखोकी, ज्वरो र पखालाका बिरामी छन् । १५ दिनमा १३ जनाको मृत्यु भएको छ, जसमध्ये तीन जनाले बुधबार राति मात्र ज्यान गुमाएका हुन् ।
मृत्यु भएका अधिकांशमा रुघाखोकी र ज्वरो देखिएको थियो । मृतक सबैमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिएका छन्।
गाउँमै पुगेर निःशुल्क परीक्षण गरी औषधी वितरण गर्दा पनि स्थानीयले चासो नदेखाएको उनले बताए। गाउँपालिकाले विज्ञप्ति जारी गर्दै सम्भावित संक्रमितको परीक्षण संख्या अपेक्षित रुपमा बढ्न नसकेको जनाएको छ। गाउँपालिकासँग भएको जनशक्ति र क्षमताले त्यहाँको अवस्था हेर्दा धान्न गाह्रो हुने अध्यक्ष भट्टले बताए।
बारपाक सुलिकोट गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख कृष्ण भट्टका अनुसार पीसीआर तथा एन्टिजेन प्रविधिबाट ११३ जनाको परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको छ । अहिले बारपाकमा करिब एक हजार जनामा रुघाखोकी र ज्वरोको लक्षण देखिएको छ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गोरखा बारपाक सुलिकोट गाउँपालिकाले रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायलाई आग्रह गरेको थियो ।
प्रदेशबाट गए १० जना स्वास्थ्यकर्मी
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बारपाकमा स्वास्थ्य टोली पठाएको छ । निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पोखराबाट ९ जना र गोरखाबाट एक जना गरी १० जनाको टोली बारपाकतर्फ गएका छन् । उनीहरुले शुक्रबार काम सुरु गर्नेछन् ।
जसमा दुई जना विशेषज्ञ चिकित्सक, एक जना मेडिकल अफिसर, एक जना नर्सिङ अफिसर, दुई जना नर्सिङ स्टाफ, एक जना जनस्वास्थ्य निरीक्षक, दुई जना प्रयोगशालाकर्मीर एक जना मनोसामाजिक परामर्शदाता सहभागी छन् ।
उनीहरुले घरघरमा गई बिरामीको अवस्था यकीन गर्ने, एन्टिजेन परीक्षण गर्ने र पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्नेछन् । त्यस्तै बिरामीलाई उपचार आवश्यक परे त्यहीँ उपचार गर्ने, अक्सिजन सपोर्ट चाहिए गोरखा अस्पताल लैजाने र जटिल अवस्थाकालाई पोखरा ल्याइने शर्माले जानकारी दिए ।
यस्तै, बारपाकमा गोरखाबाट पनि चिकित्सक टोली खटाइने भएको छ । बिहीबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसिसिएमसीं) को बैठकले गोरखा अस्पतालका डा. सन्दीप श्रेष्ठको नेतृत्वमा तीन जनाको चिकित्सक टोली खटाउने निर्णय गरिएको हो ।
शुक्रबार मात्रै उनीहरु बारपाकतर्फ जाने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।