भरतपुर अस्पतालमा कार्यरत फर्मासिष्टका माग पूरा गर्ने प्रशासनको लिखित प्रतिवद्धता
चितवन, १३ जेठ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा कार्यरत फर्मासिष्टका माग पूरा गर्ने प्रशासनले लिखित प्रतिवद्धता जनाएको छ ।
भरतपुर अस्पताल सुधार संघर्ष समिति र अस्पताल प्रशासनबीच बिहीवार झन्डै २ घण्टा छलफल चलेको थियो । छलफल पछि अस्पताल प्रशासनले जेठ मसान्तसम्म माग पूरा गर्ने लिखित प्रतिवद्धता जनाएको हो ।
अस्पतालको सो प्रतिवद्धता आएपछि समितिले केही समयका लागि शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएको नेपाल फार्मेसी संघका केन्द्रिय सदस्य एवम् संघर्ष समितिका संयोजक अजामिन ढकालले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । निर्धारित समयमा समेत अस्पतालले फर्मासिष्टका यी जायज मागहरू अक्षरशः पुरा नगरे थप सशक्त आन्दोलन गरिने उनले चेतावनी दिए ।
थप अध्ययन गरी जेठ मसान्तभित्र माग पूरा गर्ने अस्पतालका नवनियुक्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन न्यौपाने लिखित प्रतिवद्धता मार्फत जनाएका छन् ।
उनले अस्पतालमा सञ्चालित फार्मेसी, फार्मेसी स्टोर एवम् फार्मेसी जनशक्तिलाई तोकिएको जिम्मेवारी दिन अस्पताल प्रशासन प्रतिवद्ध रहेको बताए ।
यसैबीच, संघर्ष समितिले बिहीवार नै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल समक्ष भरतपुर अस्पतालको फार्मेसी विभागका माग बारे अवगत गराएको छ । सोही क्रममा स्थानीय निकायमा समेत फार्मेसी जनशक्तिको दरबन्दी खुलाउन आवश्यक पहल गर्न समेत समितिले अनुरोध गरेको छ ।
‘जहाँ औषधि त्यहाँ फर्मासिस्ट’ भन्ने विश्वव्यापी नाराको अक्षरशः कार्यान्वयन गर्नुपर्ने, फार्मेसी व्यवस्थापनका लागि प्रमुख मेसु समक्ष पेश गरिएको भ्रमण अध्ययन प्रतिवेदन तत्काल लागू गर्नुपर्ने, अस्पताल फार्मेसी स्टोरको जिम्मेवार पदमा नन–फर्मासिस्ट राख्न नपाइने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको फार्मेसी जनशक्तिको कार्यविवरण अनुसारको जिम्मवारी तत्कालै दिनुपर्ने लगायतका विभिन्न माग राखी त्यहाँका फर्मासिष्टहरु शान्तिपूर्ण आन्दोलनमा थिए ।
फार्मेसी सञ्चालन निर्देशिका ऐन, नीति, कार्यविधि विपरित हुने कुनै अन्य पेशाका पेशाकर्मीलाई फार्मेसी जस्तो संवेदनशिल शाखामा राख्नु गैर कानूनी रहेको उनीहरूको ठहर छ ।
यसैबीच, फार्मेसीमा गैर फर्मासिस्टलाई राख्नु हुँदैन भनेर अभियानमा लागेका भरतपुर अस्पतालका डा.शैलेश बसेललाई सरुवा समेत गरिएको छ । फार्मेसी पेशागत हकहितका लागि शान्तिपूर्ण धर्ना कार्यक्रमका संयोजक डा.बसेललाई सरुवा गरिएको हो ।
चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१ (संशोधनसहित) बमोजिम भरतपुर अस्पतालको फार्मेसी अधिकृत सातौं तह (करार) मा कार्यरत डा.बसेललाई स्वास्थ्य सेवा विभागले कामकाजमा खटाउने गरि सरुवा गरेको हो ।
पटकपटकको सम्झौतापछि पनि आफ्नो माग पूरा नभएको भन्दै बिना जानकारी सरुवा हुँदा डा. बसेलले शंका व्यक्त गरेका छन् । सो सरुवाको अहिले चौतर्फी विरोध भइरहेको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।