नेपालमा लगातार दोस्रोदिन ७ हजारभन्दा कममा कोरोना सङ्क्रमण, निको हुने दर ७७ प्रतिशतभन्दा बढी
काठमाडौं, १३ जेठ । नेपालमा लगातार दोस्रोदिन ७ हजारभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसअघि बुधबार नेपालमा ६ हजार ७ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २० हजार ९ सय ९२ कोरोना परीक्षण गर्दा ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा २० हजार ४ सय १४ आरटी पिसिआर परीक्षण गर्दा ६ हजार ७ सय ३१ र ५ सय ७८ एन्टीजेन परीक्षण गर्दा २ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ ।
यस्तै नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण थपिनेको तुलनामा निको हुने दर सुधार हुँदै गएको छ ।
गत २४ घन्टामा देशभर ७ हजार २ सय २६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ४ लाख १८ हजार ८ सय २९ पुगेको छ । यो दर कुल सङ्क्रमितको ७७ दशमलव २ प्रतिशत हो ।