चिकित्सक संघद्वारा महामारीविरुद्ध लड्न स्वास्थ्यकर्मीलाई तालिम
काठमाडौं, १३ जेठ । नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थासँग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको तालिम ५ वटा समूहलाई दुई/दुई दिनको दरमा १० दिनसम्म चल्ने संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिए । एउटा समूहमा १०० जना चिकित्सक एवं स्वास्थ्यकर्मीलाई समेटिएको छ ।
तालिममा कोरोना महामारीबाट बच्नको लागि संक्रमितलाई कसरी उपचार गर्ने, कोरोना अस्पतालमा चिकित्सकको तर्फबाट बिरामीको व्यवस्थापन कसरी गर्ने रु संक्रमितको उपचार गर्दा आफू कसरी जोगिने जस्ता विषय समेटिएको डा. कार्कीले बताए ।
भर्चुअल माध्यमबाट गर्न लागिएको यो तालिममा देशभरका ३००० चिकित्सक एवं स्वास्थ्यकर्मीले सहभागिताका लागि आवेदन दिएका छन् । यो तालिम जुम र फेसबुक लाइभ मार्फत् दिन लागिएको हो ।
चिकित्सक संघका अनुसार तालिम नेपाल चिकित्सक संघ, विश्व स्वास्थ्य संगठन, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको संयुक्त आयोजनामा गर्न लागिएको हो । ‘क्रिटिकल केयर ट्रेनिङ फर हेल्थ केयर वर्कर्स : कोभिड १९’ नाम दिइएको सो तालिममा प्राविधिक सहयोग भने सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल(सिमोन), सोसाइटी अफ एनेस्थेसिओलोजिस्ट्स अफ नेपाल(सान) र क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालको रहेको छ ।