राष्ट्रपति भण्डारीको आग्रहमा चीनले नेपाललाई १० लाख कोरोनाविरुद्धको खोप उपलब्ध गराउने
बीबीसी, १३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्तालापमा चीनका राष्ट्रपति सी जिनपिङले नेपाललाई १० लाख मात्रा कोभिड खोप प्रदान गर्ने घोषणा गरेका काठमाण्डूस्थित चिनियाँ दूतावासले जनाएको छ ।
नेपालका लागि चीनकी राजदूत होउ याङ्चीले ट्विटरमार्फत उक्त घोषणाको पुष्टि गर्दै चीनले अनुदान सहयोगमा खोप उपलब्ध गराउने जनाएकी छन् ।
नेपालको परराष्ट्र मन्त्रालयले पनि एक प्रेस विज्ञप्तिमार्फत दुई राष्ट्रपतिबीच कुराकानी भएको विवरण सार्वजनिक गरेको छ ।
विज्ञप्तिमा राष्ट्रपति भण्डारीले चीनबाट कोभिड-१९ विरुद्धको खोप खरिद गर्नका लागि चिनियाँ सरकारले सहजीकरण गरिदिन पनि चिनियाँ समकक्षीसँग आग्रह गरेको जनाइएको छ ।
बुधवार उत्तरी छिमेकीका समकक्षीसँग कुराकानी गरेकी भण्डारीले मङ्गलवार दक्षिणी छिमेकी भारतका समकक्षीलाई पत्राचार गरेर खोप उपलब्ध गराइदिन आग्रह गरेकी उनका सञ्चारविज्ञ टीका ढकालले बताए ।
उनले भने, "उहाँले भारतीय समकक्षीलाई हिजो पत्राचार गर्नुभएको हो । चिनियाँ राष्ट्रपतिसँग चाहिँ आज टेलिफोनमा कुराकानी भएको हो ।"
"चिनियाँ राष्ट्रपतिले खोप उपलब्ध गराउन सहज बनाउनका लागि सकारात्मक जबाफ दिनु भएको छ ।"
भारतबाट हालसम्म जबाफ आई नसकेको बताइएको छ ।
नेपालले चीनबाट यसअघि चीनमा निर्मित कोभिड खोपको आठ लाख मात्रा प्राप्त गरिसकेको छ ।
भारतले हालसम्म अनुदानमा १० लाख मात्रा कोभिशील्ड खोप नेपाललाई दिइसकेको छ ।
नेपाली सेनाका लागि पनि भारतीय सेनाले एक लाख मात्रा त्यस्तो खोप प्रदान गरेको थियो ।
नेपालले प्रारम्भिक चरणमा भारतबाट २० लाख मात्रा कोभिशील्ड खोप खरिद गरेको तर त्यसमध्ये १० लाख मात्रा मात्र नेपालमा आएको बताइएको छ ।
भारतले दोस्रो लहरका कारण खोप निर्यात गर्न रोकेपछि कोभिशील्ड खोप उत्पादकबाट बाँकी खोप हालसम्म आउन सकेको छैन ।
कोभ्याक्स योजना अन्तर्गत नेपालले तीन लाख ४८ हजार मात्रा खोप प्राप्त गरेको अधिकारीहरूले जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाखभन्दा बढीले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका छन् भने छ लाखभन्दा बढीले दोस्रो मात्रा पनि लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।